गृहपृष्ठ वर्षाको मौका छोपी नेपालगञ्जमा चोरी
वर्षाको मौका छोपी नेपालगञ्जमा चोरी
अविरल वर्षा भइरहेको मौका छोपी गए राति नेपालगञ्जको व्यस्त सुर्खेतरोडका नौ पसलबाट लाखौंको धनमाल चोरी भएको छ ।
प्रमोद किराना पसल, भोलेबाबा फर्निचर, क्रियटिभ आल्मुनियम, शाह इलेक्ट्रोनिक्स, डेको फर्निचर, उषा ट्रेडर्स, प्रभा किराना पसल, कुञ्ज ट्रेडर्स र शोभा ट्रेडर्समा चोरी भएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।
उनका अनुसार, तीन किराना पसलबाट झण्डै रु एक लाख नगद र मोबाइल रिचार्ज कार्ड चोरी भएको खुल्न आएको छ । ‘के कति चोरी भएको छ भन्ने यकिन भइसकेको छैन, मुचुल्का उठाउने काम भइरहेको छ’, उनले भने, ‘चोरले नगद मात्र उठाएको छ, जहाँ नगद भेटिएको छैन, त्यहाँबाट अन्य कुनै सामान नलगेको पाइएको छ ।’
दुई–दुई वटासम्म बलिया ताल्चा लगाएको सटरसमेत फोडेको भेटिएको छ । जिल्ला र वडा प्रहरी कार्यालयका प्रहरी प्रमुख फेरबदल भएको बेला नेपालगञ्जमा चोरीका घटना बढेका छन् ।
सहरमा चोरीका घटना बढेपछि शनिबार साँझमात्र नेपालगञ्जका इलेक्ट्रोनिक्स व्यवसायी सुरक्षा माग गर्दै जिल्ला प्रहरी कायालय बाँके पुगेका थिए । गए राति एकैपटक नौ पसलमा चोरी भएपछि व्यवसायी त्रसित बनेको नेपालगञ्जका इलेक्ट्रोनिक्स एसोसिएसनका अध्यक्ष चिरञ्जीवी वलीले बताए ।
एसोसिएसनले नेपालगञ्जको धम्बोझी, पुष्पलालचोक, त्रिभुवनचोक, सेतुविक, बीपी चोकजस्ता मुख्य ठाउँमा रहेका प्रहरीलाई सक्रिय बनाउन र अन्य क्षेत्रमा नियमित गस्ती गर्न माग गरेको छ ।
सिसीटिभी क्यामेरा जडान गरिए पनि काम नगरेको भन्दै व्यवसायीले त्यसलाई सुधार गर्न माग गरेका छन् । (रासस)
प्रकाशित समय १३:५४ बजे

















