गृहपृष्ठ बाढी पहिरोमा मृत्यु हुनेको संख्या ६७ पुग्यो, साढे १६ हजार घरधुरी प्रभावित
बाढी पहिरोमा मृत्यु हुनेको संख्या ६७ पुग्यो, साढे १६ हजार घरधुरी प्रभावित
स्थानीय तहमा कार्यरत प्रशासकीय अधिकृतहरूलाई आफू कार्यरत पालिका नछाड्न निर्देशन
अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी सोमबार दिउँसोसम्म ६७ जनाको मृत्यु भएको छ । बाढी, पहिरो र डुबानमा परी सबैभन्दा धेरै मकवानपुरमा ६ तथा ललितपुर, रौतहट र भोजपुरमा ५/५ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै ओखलढुंगा, सिरहा र सिन्धुलीमा ४/४ तथा काठमाडौं, खोटाङ, धनुषा र काभ्रेमा ३/३ जनाको ज्यान गएको छ । झापा, उदयपुर, पर्सा, बारा, महोत्तरी, धादिङ र डोल्पामा २/२ जना तथा इलाम, पाँचथर, मोरङ, सुनसरी, रामेछाप, चितवन, पाल्पा र दाङमा १/१ जना गरी ६७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये २६ जना महिला ४१ जना पुरुष छन् ।
बाढी पहिरोमा परेका काठमाडौंमा २८५, ललितपुरमा ६१, उदयपुर १०, रौतहटमा २ सय, महोत्तरीमा ५ सय, सिरहामा २, सर्लाहीमा १ सय, सप्तरीमा २५, सिन्धुलीमा ७०, धादिङमा १७, चितवन १७० र भक्तपुर, सुनसरी, मकवानपुर, खोटाङ र डोल्पामा १/१ जना गरी जम्मा १ हजार ४४५ जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
बाढी पहिरोमा परी डोल्पामा ९ जना, सिन्धुलीमा ४ जना, इलाम र मोरङमा ३/३ जना, महोत्तरी र मकवानपुरमा २/२ जना तथा काठमाडौं, ललितपुर, झापा, सुनसरी, पर्सा, रौतहट, धनुषा, धादिङ र दाङमा १/१ जना गरी ३२ जना बेपत्ता भएका छन् । बेपत्ता भएकामध्ये १४ महिला र १८ जना पुरुष छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
धनकुटामा ८, मकवानपुरमा ५, ललितपुर र सिरहामा ३/३, झापा, भोजपुर, सुनसरी, महोत्तरी, काभ्रे र सिन्धुलीमा २/२ तथा काठमाडौं, भक्तपुर, खोटाङ, उदयपुर, रामेछाप, धादिङ, दोलखा र चितवन १/१ जना गरी ३९ जना घाइते भएका छन् । घाइतेमध्ये १८ महिला र २१ पुरुष छन् । घाइतेलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।
पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका बाटो प्रहरीले सञ्चालनमा ल्याएको छ । साथै महोत्तरीको बर्दिवास नगरपालिका-१ र ४ जोड्ने पूर्व–पश्चिम राजमार्गमा रहेको भप्सी खोलामा डाइभर्सन गरेको बाटो पानीको बहाव बढ्न गई सोमबार बिहानबाट अवरोध भएको छ । ललितपुर, मकवानपुर, रामेछाप, मुस्ताङ, मनाङ, ओखलढुङगा, भोजपुर, रौतहट, महोत्तरी, पाल्पा, कालिकोटलगायतका स्थानमा भएको बाटो अवरोध हटाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
बाढी पहिरोका कारण १६ हजार ५०२ घरधुरी प्रभावित भएको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।
यसैबीच, स्थानीय तहमा कार्यरत प्रशासकीय अधिकृतहरूलाई आफू कार्यरत पालिका नछाड्न निर्देशन जारी गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै तहलाई परिपत्र गरी विपतका समयमा आफू कार्यरत पालिका नछाड्न निर्देशन दिएको हो ।
प्रकाशित समय १५:०४ बजे

















