गृहपृष्ठ तनहुँ जिल्ला अदालतका ६२ प्रतिशत मुद्दा फर्छ्योट

तनहुँ जिल्ला अदालतका ६२ प्रतिशत मुद्दा फर्छ्योट

तनहुँ जिल्ला अदालतले आर्थिक वर्ष ०७५/७६ मा ६२ प्रतिशत मुद्दा फर्छ्योट गरेको छ । उक्त अवधिमा १ हजार ६ सय १६ मुद्दा रहेकामा १ हजार ९ मुद्दा फर्छ्योट भएको तनहुँ जिल्ला अदालतले जनाएको छ । उक्त आर्थिक वर्षमा नयाँ दर्ता भएका १ हजार २ सय ३९ थान र जिम्मेवारी सरी आएका ३७७ थान मुद्दामध्ये १ हजार ९ मुद्दा फर्छ्योट भई ६०७ मुद्दा फर्छ्योट हुन बाँकी रहेको जिल्ला अदालतका स्रेस्तेदार सुदर्शन खनालले जानकारी दिए ।

जिल्ला अदालतमा सम्बन्धविच्छेदका ५२७, अंशन्डाका १६९, लागुऔषधका ५३, सवारीज्यानका ५०, मानाचामलका १७, घरेलु हिंसाका १४, नाता कायमका १९, जबर्जस्ती करणीका २१ र अन्य ७४६ मुद्दा दर्ता भएका थिए । अदालतले १ हजार ३ सय ३४ थान जम्मा लगत मुद्दा हुने अनुमान गरेकामा वार्षिक लक्ष्यभन्दा २८२ थान बढी मुद्दा दर्ता भएको थिए ।

वार्षिक रूपमा ९३४ थान मुद्दा फर्छ्योट गर्ने लक्ष्यबमोजिम आर्थिक वर्ष २०७५/७६ को असार मसान्तसम्म १ हजार ९ मुद्दा फर्छ्योट भई वार्षिक लक्ष्यभन्दा ४५ थान मुद्दा बढी फर्छ्योट भएको स्रेस्तेदार खनालले जानकारी दिए । ‘वार्षिक लक्ष्यको तुलनामा १०८.३ र जम्मा लगतको तुलनामा ६२.६४ प्रतिशत मुद्दा फर्छ्योट भएका छन्,’ उनले भने । अदालतमा बालबालिकासम्बन्धी मुद्दा छ थान रहेकामा तीन थान मुद्दा फर्छ्योट भई तीन थान फर्छ्योट हुन बाँकी छन् । निवेदनतर्फ १४५ मुद्दा दर्ता भएकामा २७ मुद्दा फर्छ्योट भई ६६ मुद्दा फर्छ्योट हुन बाँकी छन् ।

भदौ १ गतेदेखि पुरुषले समेत जिल्ला अदालतमा सम्बन्धविच्छेद गराउन सक्ने कानुनी प्रावधान बनेपछि १२८ पुरुषले सम्बन्धविच्छेदको मुद्दा गराएका छन् । यसअघि पुरुषले सम्बन्धविच्छेद गर्न चाहे सम्बन्धित गाउँपालिका-नगरपालिकामा निवेदन दिनुपर्ने र एक वर्षभित्र त्यहाँ उक्त घटना मिलाउन प्रयास गर्न नसकिए मात्रै अदालतमा आउने कानुनी व्यवस्था रहेको थियो ।

‘नयाँ नियमअनुसार अब पुरुषले सिधै अदालतमा मुद्दा दर्ता गर्न सक्छन्,’ स्रेस्तेदार खनालले भने, ‘त्यही भएर आर्थिक वर्ष २०७५/७६ मा सम्बन्धविच्छेदका मुद्दा बढेका छन् ।’ अघिल्लो आव २०७४/७५ सम्म अदालतमा सम्बन्धविच्छेदका ३३७ थान मुद्दा दर्ता भएका थिए ।

९७९ वर्ष कैद भुक्तान हुन बाँकी

अदालतमा कैदतर्फ १ हजार ६ सय १४ वर्ष ११ महिना २२ दिनको लगत रहेकामा ६३५ वर्ष ६ महिना १४ दिन कैद भुक्तान भएको छ भने ९७९ वर्ष ५ महिना ८ दिन कैद भुक्तान हुन बाँकी रहेको छ । त्यस्तै जरिवानातर्फ २ करोड १८ लाख ७२ हजार २ सय ७७ लगत रहेकामा ७५ लाख ५८ हजार ८४८ फर्छ्योट भई १ करोड ४३ लाख १३ हजार ४२८ फर्छ्योट हुन बाँकी रहेको अदालतले जनाएको छ । विभिन्न मुद्दामा सजाय पाएका प्रतिवादी फरार रहेकाले कैद र जरिवाना भुक्तान हुन नसकेको अदालतले जनाएको छ । (रासस)

प्रकाशित समय १०:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु