गृहपृष्ठ चितवनमा आव २०७५/७६ मा सवारी दुर्घटनामा १४६ जनाको मृत्यु
चितवनमा आव २०७५/७६ मा सवारी दुर्घटनामा १४६ जनाको मृत्यु
गत आर्थिक वर्षमा जिल्लामा सवारी दुर्घटनाका कारण १४६ ले ज्यान गुमाएका छन् । जिल्लामा भएका २९५ दुर्घटनामा परी उनीहरुको ज्यान गएको हो ।
अघिल्लो आर्थिक वर्षमा २७१ दुर्घटनामा १३२ को मृत्यु भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार अघिल्लो वर्षभन्दा गत वर्ष २४ दुर्घटना बढेर १४ बढी मानिसको मृत्यु भएको छ ।
दुर्घटना न्यूनीकरणका लागि विभिन्न कार्यक्रम गरिएको भए पनि दुर्घटनाको क्रम भने रोकिएको छैन । गत आवमा भएका दुर्घटनामा ४५३ सवारी साधन परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीका अनुसार गत वर्ष भएका सवारी दुर्घटनामा परी ५५८ घाइते भएका छन् ।
जिल्लामा भएका सवारी दुर्घटनामध्ये मोटरसाइकल बढी रहेको छ । गत वर्ष २०५ मोटरसाइकल दुर्घटनामा परेका छन् । यस्तै ८० ट्रक तथा ट्यांकर, ५३ बस, ५२ जिप-कार दुर्घटनामा परेको कार्यालयको तथ्यांकले देखाएको छ । यस्तै कार्यालयले गत आवमा ४० हजार २९ सवारी कारबाही गरी ३ करोड ७ लाख ६६ हजार ५ सय राजस्व संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षमा ४५ हजार १ सय ५० सवारी साधनलाई कारबाही गरी ३ करोड ३६ लाख ८७ हजार ५ सय रूपैयाँ राजशस्व संकलन गरेको थियो ।
करबाहीको संख्या हेर्ने हो भने जनचेतनाका कारण घट्दै गएको तर दुर्घटना न्यूनीकरण गर्न नसकेको प्रमुख गिरीले बताए । हलुका सवारी साधनको तीव्र गतिका कारण दुर्घटना बढी हुने गरेको उनले जानकारी दिए । बढ्दो सवारीको चाप र साँघुरा सडकका कारण भित्री सडकमा बढी संख्यामा दुर्घटना भएको उनले बताए । (रासस)
प्रकाशित समय ११:२६ बजे

















