गृहपृष्ठ आदिकवि भानुभक्त क्याम्पसमा सौर्य उपकरण जडान
आदिकवि भानुभक्त क्याम्पसमा सौर्य उपकरण जडान
समुदायबाट सञ्चालित तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा सौर्य उपकरण (सोलार) जडान गरिएको छ । व्यास नगरपालिकाको पाँच लाख रूपैयाँको सहयोगमा क्याम्पसमा सो उपकरण जडान गरिएको हो ।
उक्त नगरपालिकाले सोलार प्यानल, ब्याट्री, युपिएस, जेनेरेटर खरिदका लागि आर्थिक वर्ष ०७५/७६ मा १२ लाख रूपैयाँ उपलब्ध गराएको थियो । सौर्य उपकरणमार्फत क्याम्पसको दोस्रो तलाका १२ कक्षाकोठा, विभागीय कार्यालय र क्याम्पस प्रमुखको कार्यकक्षमा बिजुली जडान गरिएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिए ।
सामुदायिक शैक्षिक संस्थाको कार्यक्षमता अभिवृद्धि गर्ने कार्यक्रमअन्तर्गत नगरपालिकाले आव ०७५/०७६ मा क्याम्पसलाई सहयोग गरेको थियो । सोही बजेटमध्ये आठ लाख रूपैयाँको लागतमा जेनेरेटर खरिद गरिएको क्याम्पस प्रमुख हड्खलेले जानकारी दिए । ‘जेनेरेटरमार्फत विद्युत् कटौतीको अवस्थामा वैकल्पिक व्यवस्था गरिए पनि क्याम्पसमा ऊर्जाको आपूर्ति अपुग नै थियो,’ हड्खलेले भने, ‘थप सौर्य ऊर्जाको व्यवस्थापनले क्याम्पसमा चौबिसै घण्टा विद्युत् आपूर्ति सुनिश्चित भएको छ ।’
कुल २ हजार ५ सय विद्यार्थी अध्ययनरत उक्त क्याम्पसमा छात्राको संख्या मात्रै ८० प्रतिशत छ । कुल विद्यार्थीमध्ये ९५ प्रतिशत विद्यार्थी ग्रामीण भेगका छन् । कुल विद्यार्थीको १८ प्रतिशत विद्यार्थी दलित र ७० प्रतिशत विद्यार्थी विपन्न समुदायको रहेको क्याम्पसले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्याम्पसले शैक्षिक गुणस्तर मापन (क्युएए) को मान्यता प्राप्त गर्नाका साथै नेपालका १ हजार ८ सय ५४ क्याम्पसमध्ये एमबिएस कार्यक्रममा नेपालकै उत्कृष्ट पहिलो क्याम्पसको उपाधिसमेत यसले प्राप्त गरेको थियो । (रासस)
प्रकाशित समय १२:४५ बजे

















