गृहपृष्ठ अनाथ बालबालिकासँग जन्मदिन

अनाथ बालबालिकासँग जन्मदिन

जन्मदिन भन्नेबित्तिकै अहिले धेरैले ‘केक’ भन्ने मात्र सम्झन्छन् । केक हरेक अवसरमा प्रयोग गरिने सौखिन साधन बनेको छ । जन्मदिनको पर्याय बनेको केक बाल मस्तिष्कमा निकै गहिरो छाप बनेर बसेको छ ।

केकले क्रेजी बनाएर होला, हिजोआज बालबालिका त घरमा हजुरबुबा, हजुरआमा, आमाबाबु, काकाकाकी, मामामाइजू, दाइदिदीलगायत विभिन्न नातासँग सम्बन्धित सबै आफन्त जन्मेको दिन सम्झाउन थालेका छन् ।

सुर्खेत पश्चिम चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले भने आफ्नो ३८औँ जन्मदिन मानवीय धर्म र संवेदनासँग जोडेर मनाएका छन् । जुन कार्य सहरमा बसेर केक काट्न रहर गर्नेहरुका लागि मननीय छ ।

अध्यक्ष शाहीले शुक्रबार चौकुने गाउँपालिकाको सान्नेघारी माध्यमिक विद्यालय गुटुका १५ टुहुरा (अनाथ) बालबालिकासँग खुसी साटेर जन्मदिवस मनाए । जन्मदिवसको अवसरमा उनले अनाथ सबै बालबालिकालाई एकसरो कपडा र शैक्षिक सामग्री दिए । उनले भने, ‘मेरो खुसी केकसँग होइन, तिनै अनाथ बालबालिकासँग नैतिकता र जीवन दर्शनका कुरा गरेर साटेँ ।’

भागदौडपूर्ण जिन्दगीमा एकमुठ्ठी खुसी आदानप्रदान गर्न थोरै समय भए पनि टुहुरा बालबालिकासँगै रहेर जन्म दिवस मनाउन पाउँदा मन हर्षित भएको उनले बताए । जन्मदिनमा उपहार लिने नभई दिने चलनको विकास होस् भन्न र गर्नका निम्ति गुटुका अनाथ बालबालिकासँग जन्मदिवस मनाइएको उनको भनाइ थियो ।

कर्णालीको संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यले पाषणवेदको पातमा खिर राखेर ताजा सेलरोटीसँग अचार मिलाएर खाने र दीर्घायुको कामना गर्ने मौलिक संस्कृति कायम राख्न नसक्नु हाम्रै कमजोरी भएको तर्क गरे । ‘विविधतायुक्त जाति, भाषा र संस्कृतिमा नेपालको पूर्वदेखि पश्चिम सबै क्षेत्र समृद्ध छ,’ आचार्यले भने, ‘यसलाई विश्वव्यापीकरण गर्न सकेका छैनौँ ।’ (रासस)

प्रकाशित समय १२:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु