गृहपृष्ठ वडाध्यक्षको तलब ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई
वडाध्यक्षको तलब ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई
स्थानीय तहको निर्वाचनका बेला सरकारी सेवा सुविधा नलिने घोषणा गरेका कञ्चनपुर भीमदत्तनगरपालिका–१ का वडाध्यक्ष आसेफ कुवँर (भुन्टु) ले आफूलाई आएको तलबभत्ता वडामै वितरण गरेका छन् ।
आइतबार वडा नं. १ को वडा कार्यालयमा गाउँका ज्येष्ठ नागरिक (७० वर्षमाथिका) र अपांगता भएका व्यक्तिलाई अध्यक्ष कुँवरले आफूलाई आएको रकम हस्तान्तरण गरेका हुन् । वडाका ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्ति गरी १४७ जनालाई उक्त रकम हस्तान्तरण गरिएको छ ।
ज्येष्ठ नागरिकलाई प्रतिव्यक्ति १ हजार ५ सय र अपांगता भएका व्यक्तिलाई १ हजार रूपैयाँका दरले हस्तान्तरण गरेको वडा कार्यालयले जनाएको छ । ‘निर्वाचनबाट म जनताको सेवाका लागि अध्यक्ष भएको हुँ,’ वडाध्यक्ष कुँवरले भने, ‘जनताको करबाट हामीलाई दिइएको सुविधा गाउँमै दिने निर्णय लिएको हुँ ।’
उनले आफ्नो कार्यकालभरि आउने सबै सुविधा वडाका ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, असहाय र विपन्न परिवारलाई प्रदान गर्ने बताए । कुवँरले गत वर्ष पनि आएको सुविधा गाउँमै वितरण गरेका थिए ।
‘वडा कार्यालय आउन नसकेका वृद्धवद्धालाई घरमै गएर पनि रकम पु-याउने छु,’ कुवँरले भने, ‘राजनीति सेवा हो, जागिर होइन ।’ तलबबापत पाएको २ लाख ६३ हजार रूपैयाँ उनले एक कार्यक्रम आयोजना गरी वितरण गरेका हुन् ।
वडाध्यक्षले रकम वितरण गरेपछि गाउँका ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिमा खुसीयाली छाएको छ । ‘हाम्रा वडाध्यक्षको महान् कार्यप्रति सलाम छ,’ स्थानीय ८४ वर्षीय वृद्ध जयबहादुर विष्टले भने, ‘रकमभन्दा मान्छेको सामाजिक भावना ठूलो कुरो हो ।’
हरेक निर्वाचनमा मत दिएर जनप्रतिनिधि चुने पनि आफूहरुले पहिलोपटक मनकारी वडाध्यक्ष पाएको स्थानीयवासीको भनाइ छ । स्थानीयवासी ७२ वर्षीय ऐनबहादुर सिंहले मनकारी अध्यक्ष पाएकामा गाउँभरिका पाकापुस्ता हर्षित भएको बताए ।
जनप्रतिनिधि चुनिएसँगै गाउँमा खानेपानी, सडक सञ्जाल विस्तार, नदी नियन्त्रणका लागि तटबन्धलगायतका पूर्वाधार विकास भएको सिंहको भनाइ छ । (रासस)
प्रकाशित समय १५:१७ बजे

















