गृहपृष्ठ मानव बेचबिखनविरुद्ध विद्यार्थी पढाउँदै प्रहरी

मानव बेचबिखनविरुद्ध विद्यार्थी पढाउँदै प्रहरी

nepal police_newskarobar

जाजरकोट प्रहरीले जिल्लाका सबै सामुदायिक विद्यालयमा मानव बेचबिखनविरुद्ध सचेतना प्रशिक्षण सञ्चालन गरेको छ ।

माध्यामिक तहका विद्यार्थीलाई लक्षित गरेर मानव बेचबिखनविरुद्ध सचेतनामूलक कक्षा चलाएको जाजरकोट प्रहरी प्रमुख श्यामबहादुर खत्रीले जानकारी दिए । विद्यार्थीलाई केन्द्रीत गर्दै विद्यालयमा दुव्र्यसनविरुद्ध सचेतना प्रशिक्षण कार्यक्रमलाई प्राथमिकता दिएको उनको भनाइ छ । एकोहोरो पाठ्यपुस्तक मात्र रटेर बसेका विद्यार्थीलाई मानव बेचबिखनविरुद्ध सचेतना प्रशिक्षणले नयाँ ज्ञान आर्जन भएको त्रिभुवन माविकी छात्रा प्रेमा कार्कीले बताइन् । लागुपर्दाथ सेवन, मानव बेचबिखन तथा ओसारपसार कसरी हुन्छ भन्ने विषयमा ज्ञान हासिल गरेको उनको भनाइ छ ।

हाम्रो समाजमा हुने विभिन्न किमिसका अपराधजन्य कुरा, कानूनमा भएको सजायको व्यवस्थाका विषयमा समेत जानकारी भएको त्रिभुवन मावि नलगाड नगरपालिका-७ की छात्रा रमिता पुनले बताइन् । जाजरकोटका सात स्थानीय तहका विद्यालयमा यो कक्षा सञ्चालन गरिएको छ ।

प्रहरीले कक्षाकोठामा विद्यार्थीलाई मानव बेचबिखन भनेको के हो ? व्यक्ति, समाज, राष्ट्र तथा परिवारमा यसले के–कस्तो प्रभाव पार्दछ ? लागुऔषध मानिसले के कारणले गर्दा सेवन गर्ने गर्छन् ?, लागुऔषध सेवनपश्चातका लक्षण, कुलतमा फसेकालाई सुधार गर्न सकिने उपायका साथै लागुऔषधको सेवन, बिक्री वितरण तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐन २०३३ लगायत नेपालमा प्रचलित कानून र सजायको व्यवस्था बारेमा प्रशिक्षणमा जानकारी दिँदै आएको छ ।

मानव बेचविखनबाट हुने हानी, बेफाइदा कार्यमा विद्यार्थी, विद्यालय र अन्य सरोकारवाला निकायले खेल्नुपर्ने भूमिकालगायतका विषयमा केन्द्रीत गरी प्रशिक्षण दिइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताए । (रासस)

प्रकाशित समय १०:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु