गृहपृष्ठ बढी भाडा फिर्ता गराउँदै प्रहरी

बढी भाडा फिर्ता गराउँदै प्रहरी

nepal police_newskarobar

दसैं मनाउन राजधानी बाहिरिने यात्रुसँग यातायात व्यवसायीले मनलाग्दी भाडा असुल गर्न थालेपछि यहाँका सडकमा चेकजाँचमा कडाइ गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले काठमाडौँबाट आउने सवारी साधनलाई रोकेर यात्रुसँग भाडा के कति लिइएको हो सोधपुछ थालेको छ । कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीका अनुसार बुधबार एउटा माइक्रो बसका १७ जना यात्रुको बढी भाडा लिइएको रकम फिर्ता गराइएको छ । उनका अनुसार काठमाडौँबाट यात्रु लिएर कावासोतीका लागि हिँडेको बा३ख ३८९१ नं को माइक्रो बसका यात्रुलाई २ सयदेखि चार सयसम्म बढी लिइएको भाडा प्रतिव्यक्तिका दरले फिर्ता गराइएको हो ।

गिरीका अनुसार आज यातायात कार्यालयका प्रतिनिधिको रोहवरमा भरतपुरको रामनगरमा चेकजाँच थालिएको छ । दसैंको टीकाको दिन अघिसम्म काठमाडौँबाट आउने र टीकापछि काठमाडौँ फर्कने सवारी साधनमा चेकजाँच गरिने उनले बताए । गन्तव्यमा पुग्नैपर्ने यात्रुलाई बाध्य पारेर बढी भाडा लिने गरिएको भन्दै उनले त्यस्ता सवारीबाट रकम फिर्ता गराई कडा कारबाही गरिने बताए ।

यस्तै सवारी गतिसमेत चेकजाँच गर्न थालिएको छ । चाडपर्वको समयमा तीव्र गतिमा सवारी चलाउने गरेको र यसले दुर्घटना बढाउने भन्दै चेकजाँच थालिएको हो । बुधबार कुरिनटार क्षेत्रमा राजमार्गमा गति मापनयन्त्र (राडरगन) बाट चेकजाँज गरिएको थियो । यस कार्यलाई पनि विभिन्न सडकमा निरन्तरता दिइने गिरीले जानकारी दिए । (रासस)

प्रकाशित समय १३:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु