गृहपृष्ठ इलाममा दसैंको चहलपहल : बजार पसलमा अझै भीडभाड

इलाममा दसैंको चहलपहल : बजार पसलमा अझै भीडभाड

नेपालीहरुको महान चाड सुरु भइसकेको छ । यस चाडको अवसरका सबैले राम्रो लगाउने र मिठो खाने गर्दछन् । त्यही भएर पनि बजारमा किनमेल गर्नेहरुको भीड लाग्ने गरेको छ ।

बजारमा सबैभन्दा बढी कपडा किन्नेहरुको भीड लागेको छ । केही दिन अघिसम्म झरीले गर्दा किनमेल गर्ने मानिस नआए पनि मौसम खुलेसँगै इलाम बजारका कपडा पसलहरुमा असाध्यै भीड लागेको छ । धेरैले दसैंलाई मात्र नभएर तिहारका लागि पनि कपडा खरिद गर्न थालेपछि भीड बढेको हो । दसैं शुरु भइसक्दा पनि इलाममा किनमेल गर्नेहरुको घुइँचो उस्तै छ ।

दशैँ तिहार लगायतका चाडपर्वमा आफ्नो गच्छेअनुसार लुगाकपडा लगाउनुपर्छ भन्ने नेपाली समाजमा मान्यता छ । यसै कारण पनि बजारमा नयाँ लुगा तथा सरसामान किन्नेको घुइँचो देखिएको हो । स्थानीय सोभानी लकान्द्रीले भनिन्, ‘हाम्रो सबैभन्दा ठूलो चाडपर्व भनेको नै यही हो । त्यसैले बालबच्चाका लागि लत्ताकपडाहरु किन्नैप¥यो । ठूलालाई भन्दा पनि केटाकेटीलाई दसैं लाग्छ । त्यसैले दसैंका लागि लत्ताकपडा र अरु सामान किन्न आएको ।’

चाडपर्वकै अवसर पारेर व्यापारीहरुले पनि नयाँ उत्पादनहरु बजारमा भित्र्याउने गर्छन् । जसले गर्दा सबैको मनमा उत्साह र उमंग हुने तथा छुटका अफरहरू बढी आउने हुनाले बजारमा भीडभाड बढ्ने गर्छ । दसैं तिहारमा नयाँनयाँ फेसनवेल कपडाहरु आउने हुँदा कतिपयले त फेसनको पर्वको रुपमा समेत लिने गरेका छन् । नयाँ फेसनमा रम्नेहरुलाई चाडपर्व नै त कुर्नु पर्दैन तर विद्यार्थीहरु भने यस समयमा स्कुल र कलेज छुट्टी हुने भएकाले फेसनेवल कपडा लगाएर हिँडडुल गर्न पाउँदा दंग हुन्छन् ।

नयाँ सामान खरिद गर्नेको भीडभाडले इलाम बजारमा चहलपहल बढेको व्यवसायीहरू बताउँछन् । बजारमा चाडपर्वको समयमा पसलैपिच्छे छुटैछुटका अफर लेखेको देख्न पाइन्छ ।

यस समयमा सबै उमेर समूहका मानिसहरु बजारमा किनमेल गर्न आएको देख्न सकिन्छ । त्यसमा पनि बालबालिकाका बढी कपडा विक्री हुने गरेको व्यापारीहरुको अनुभव छ । स्थानीय व्यापारी रुद्र अधिकारीले यतिबेला लत्ताकपडा विक्री गर्न भ्याइनभ्याइ भएको बताए ।

बालबच्चाका लागि दसैंमा नयाँ लत्ताकपडा लगाउने पर्व हो भने पारिवारिक जिम्मेवारी ग्रहण गरेका व्यक्तिका लागि वर्षभरका दुःखपीडा बिर्सेर परिवारका साथ रमाउने पर्व भएकाले आफन्तहरुकोमा भेटघाट गर्न जाने परम्परा दसैंको मुख्य बिशेषता हो ।

‘हुने खाने’ र ‘हुँदा खाने’ अथवा सबै वर्ग, पेसाका मानिसले दसैंलाई रमाइलो गर्ने पर्वकै रुपमा लिने गरेका छन् । तर पसलैपिच्छे फरकफरक मूल्य हुने गरेकाले उपभोक्ताले ख्याल गरेर सामान खरिद गर्न आवश्यक छ । नेपाली समाजमा दसैंलाई असत्यमाथि सत्यको विजयको रूपमा लिइन्छ ।

प्रकाशित समय १६:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु