गृहपृष्ठ बिरुवा रोप्नेलाई अनुदान, हुर्काउनेलाई बोनस : मुख्यमन्त्री पोखरेल
बिरुवा रोप्नेलाई अनुदान, हुर्काउनेलाई बोनस : मुख्यमन्त्री पोखरेल
बुटवल– प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारले हरियाली प्रवद्र्धन कार्यक्रमलाई महत्वका साथ अगाडि बढाएको बताएका छन् । हरियाली प्रवर्धन कार्यक्रमअनुसार प्रदेश सरकारले एउटामात्रै पनि बिरुवा रोप्ने व्यक्तिलाई अनुदान दिने र बिरुवा हुर्काउने व्यक्तिलाई थप बोनससमेत दिनेगरी कार्यक्रम ल्याउन लागिएको मुख्यमन्त्री पोखरलले जानकारी दिए ।
विश्व वातावरण दिवसको अवसरमा बुटवलमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पोखरेलले लुम्बिनीलाई हरित नगरको रुपमा विकास गर्न प्रदेश सरकारले थालनी गरिसकेको बताए । ‘गणतन्त्र दिवसका अवसरमा लुम्बिनीमा हरितजन्य बिरुवा र पाल्पाको तिनाउ गाउँपालिकामा फलफूलजन्य बिरुवा रोपेर हरित नगर विकासको सुरुवात गरेका छौं,’ उनले भने । पानीको सतह विस्तारै पातलिँदै जाँदा यसको प्रभाव दीर्घकालीन रुपमा पर्ने भएकाले बेलैमा सचेतना अपनाउन आवश्यक रहेको उनले बताए ।
फरक प्रसंगमा, मुख्यमन्त्री पोखरेलले केन्द्रको अधिकार गाउँ–गाउँमा आए पनि केन्द्रीय प्रशासनिक मान्यता सजिलैसँग गाउँ–गाउँमा ल्याउन नसकिएको प्रस्ट पारे । केन्द्रीय प्रशासन मानसिकता बदल्न आफूले पटक–पटक प्रयास गरे पनि सफलता हासिल गर्न नसकेको उनको भनाइ छ । ‘नेपालको संविधान पूर्णरुपमा कार्यान्वयन गर्ने अधिकार नेपाली जनतामा मात्र छ,’ मुख्यमन्त्रीले भने, ‘विदेशीको इशारामा लादिएको केन्द्रीय प्रशासनिक पद्धति तोड्न जरुरी छ ।’
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका प्रमुख आयुक्त सुदिप पाठकले वातावरणको क्षेत्रमा अझ धेरै कार्य गर्न बाँकी रहेकाले दीर्घकालीन सोचका साथ काम अगाडि बढाउनुपर्ने बताए ।
पत्रकारिता पुरस्कार पोखरेललाई
यसैबीच, नेपाल पत्रकार महासंघ रुपन्देहीले प्रदान गर्ने उत्कृष्ट वातावरणीय पत्रकार पुरस्कार यो वर्ष अन्नपूर्ण पोस्ट दैनिक प्रदेश नम्बर ५ ब्युरो कार्यालय प्रमुख लक्ष्मण पोखरेललाई प्रदान गरिएको छ । २५ हजार राशिको उक्त पुरस्कार छनोट समितिले उत्कृष्टताको आधारमा प्रदान गरेको हो ।
प्रकाशित समय १८:२७ बजे

















