गृहपृष्ठ महिला हिंसा अन्त्य गर्नु तीनै तहका सरकारको जिम्मेवारी हो : मन्त्री मगर
महिला हिंसा अन्त्य गर्नु तीनै तहका सरकारको जिम्मेवारी हो : मन्त्री मगर
महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा मगरले महिला हिंसा अन्त्य गर्न तीनै तहका सरकारले जिम्मेवार भई काम गर्नुपर्ने बताएकी छन् । काठमाडाैँमा बिहीबार सम्पन्न पाँचाैँ विश्व महिला सम्मेलनकाे समापन कार्यक्रममा मन्त्री मगरले यस्ताे बताएकी हुन् ।
‘युग समानता २०३० सम्ममा प्राप्तिका लागि महिलावादी आन्दोलनलाई गतिवर्द्धन गरौँ’ भन्ने नारा रहेकाे सम्मेलनमा सात प्रदेशका महिलाको सहभागिता थियो ।
बियोण्ड बेजिङ कमिटिले २० बुँदे काठमाडौँ घोषणपत्र पारित गर्दै सो सम्मेलन समापन गरेको हो । घोषण पत्रमा महिलामाथि गरिने सबै प्रकारका विभेद्को अन्त्य, राष्ट्रिय महिला आयोगलाई पूर्णता, समानुपातिक सहभागितालाई कार्यान्वयन, बालविवाहको अन्त्य लगायतका विषय समेटिएका छन् ।
उनले स्थानीय सरकारसँग बुझेर महिला हिंसा निवारण कोष निर्माण गर्ने तयारीमा सरकार जुटेको उल्लेख गरिन् । बियोण्ड बेजिङ कमिटि नेपालका अध्यक्ष शान्तालक्ष्मी श्रेष्ठले सन् १९९५ मा चीनको बेजिङमा सम्पन्न चाैँथो विश्व महिला सम्मेलनका कारण महिलाले आफ्नो आवाज राख्न वातावरण बनेको बताइन् ।
उनले चाैँथो विश्व महिला सम्मेलनले विश्वलाई नै लैङ्गिक समानताको लागि उन्मुख गराएका कारण नेपालमा पनि परिवर्तन आएको दाबी गरिन् । नेपालले बेजिङ सम्मेलनले प्रतिपादन गरेका १२ मुद्दा कार्यान्वयनका लागि राष्ट्रिय कार्यनीति तयार गरी पूर्ण प्रतिबद्धता व्यक्त गरिसकेको छ । जसमा बियोण्ड बेजिङ कमिटी नेपालले सन् १९९४ देखि नै लैङ्गिकता र महिला तथा बालिकाको अधिकारका लागि काम गर्दै आएको छ । (रासस)
प्रकाशित समय १५:०७ बजे

















