गृहपृष्ठ नेपालको दोस्रो लामो पुल निर्माण पूरा

नेपालको दोस्रो लामो पुल निर्माण पूरा

नेपालकै दोस्रो ठूलो पुल निर्माणकार्य पूरा भएको छ । दाङको राप्ती नदीमा राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने पुलको निर्माण पूरा भएको हो ।

८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइ रहेको उक्त पुल करीब रु एक अर्ब लगानीमा निर्माण पूरा भएको हो । अनक निर्माण सेवाले आर्थिक वर्ष २०७२/७३ देखि निर्माणकार्य शुरु गरेको हो । आव २०७६/७७ भित्र पुल निर्माण सक्ने सम्झौता भए पनि त्यसअगावै निर्माणको काम पूरा भएको पुल निर्माणको योजना कार्यान्वयन गराउने सरकारी निकाय पुल योजना सेक्टर नम्बर ३ का योजनाप्रमुख सुनिलबाबु पन्तले बताए । ‘पुल निर्माणका लागि चार वर्षको सम्झौता भएको थियो,’ उनले भने, ‘तर सम्झौता अवधि पूरा गर्नु चार महीनाअघि नै हामीले काम पूरा गरेका छौँ ।’

अहिले पुल निर्माण पूरा भएको र त्यहाँ पुग्ने सडक निर्माणको काम भइरहेको उनले जानकारी दिए । उक्त पुलको आउँदो माघ महीनामा उद्घाटन हुनेछ । सो पुल निर्माण भएसँगै देउखुरीको राप्ती नदी वारपार गर्न सहज भएको छ । अहिले गढवा गाउँपालिकाअन्तर्गत पर्ने राप्तीपारिको क्षेत्रबाट वारि आउँदा कालाकाटे–भालुवाङ हुँदै करीब डेढ घण्टाको सवारी यात्रा गर्नुपर्ने अवस्था थियो, तर पुल निर्माण भएसँगै १५ मिनेटभित्रै वारपार गर्न सकिने भएको छ ।(रासस)

प्रकाशित समय ०७:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु