गृहपृष्ठ काठमाडौंका पोखरी र नदीकिनारमा यसरी हुँदैछ छठ पूजाको तयारी

काठमाडौंका पोखरी र नदीकिनारमा यसरी हुँदैछ छठ पूजाको तयारी

फोटो फिचरसहित

guhyeshwory-chhath-newskarobar

सूर्य उपासनाको पर्व छठको काठमाडौंका विभिन्न पोखरी र नदीकिनारमा तयारी सुरु गरिएको छ । कात्तिक १४ गते सुरु भएर १६ गते बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै समापन गरिने छठ पूजाका लागि पोखरी र नदीकिनारमा पूजा स्थल निर्माण तथा सरसफाइलाई तीव्रता दिइएको हो । छठपर्व कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भई कार्तिक शुक्ल सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन हुन्छ ।

kamalpokhari-chhath-newskarobar

केही वर्षअघि सम्म तराई मधेसमा मात्र मनाइने छठ पर्वका लागि पहाडी क्षेत्रका बासिन्दाले पनि अपनत्व देखाउन थालेपछि राजधानीका पोखरी र नदीकिनार झकिझकाउ हुने गरेका छन् । काठमाडौंको कमलपोखरीमा विशेष रुपले छठ मनाउन थालिएको नौ वर्ष पुगिसकेको छ । केही वर्षयता कमलपोखरीमा छठ मनाउन राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनलगायत मन्त्रीहरु, विभिन्न दलका नेता तथा उच्च पदस्थ सरकारी अधिकारी पुग्ने गरेका छन् । राष्ट्रपति स्वयं पुग्ने भएकाले कमलपोखरीमा छठको विशेष तयारी भइरहेको छ ।

kamalpokhari-chhath-newskarobar

काठमाडौं महानगरपालिकाले ८ करोड ३२ लाख रुपैयाँमा दुई महिनाअघि कमलपोखरीमा संरचना तथा बगैंचा निर्माणको जिम्मा दिएको छ । दीर्घकालीन संरचना निर्माणका लागि एक वर्षे ठेक्का दिइएकोमा छठलाई लक्षित गरी अहिले हतार हतार सिँढीहरु बनाउने काम भइरहेको छ ।

kamalpokhari-chhath-newskarobar

कमलपोखरी छठ पूजा समाजले बर्सेनि कमलपोखरीको छठको तयारी र व्यवस्थापन गर्दै आएको छ । समाजका उपाध्यक्ष अनन्त दाहाल महानगरपालिकाले आफ्नै हिसाबले कमलपोखरीमा संरचना तथा बगैंचा निर्माणको जिम्मा दिए पनि छठलाई लक्षित गरी सिँढी निर्माणमा ठेकेदारलाई हतार लगाइएको बताउँछन् । ‘दसैं तिहारका कारण कामदार पाउन समस्या भयो,’ उनी भन्छन्, ‘अहिले बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म १५ जना मजदुरले काम गरिरहेका छन् ।’ छठको तयारीमा व्यवधान नआओस् भनेर हतार गरिएको उनले बताए ।

kamalpokhari-chhath-newskarobar

छठ पूजाका लागि करिब १२ लाख खर्च अनुमान गरिएको समाजले जनाएको छ । ‘सबै रकम सहयोगबाटै जुट्छ,’ उपाध्यक्ष दाहालले भने, ‘कसैले पैसा र कसैले सामान सहयोग गर्छन्, कुनै समस्या हुँदैन ।’ कमलपोखरीमा गत वर्षको छठमा २८८ जना व्रतालुले सहभागिता जनाएकोमा यो वर्ष संख्या धेरै बढ्ने समाजको अनुमान छ । कमलपोखरीमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने समयमा हजारौं भक्तजन एवं दर्शनार्थी पुग्ने गरेका छन् ।

guhyeshwory-chhath-newskarobar

काठमाडौंको गुह्येश्वरीमा पनि छठ पर्वको विशेष तयारी भइरहेको छ । गुह्येश्वरीस्थित बागमती नदीकिनारमा धमाधम संरचना बनिरहेका छन् । त्यस्तै, थापाथली, मनोहरा, नागपोखरीलगायतका पोखरी र नदीकिनारमा छठ पूजाका लागि अस्थायी संरचना बनाउने काम भइरहेको छ । २०७२ सालको महाभूकम्पले भत्किएपछि रानीपोखरीमा भने छठ पूजा स्थगन गरिएको छ ।

guhyeshwory-chhath-newskarobar

guhyeshwory-chhath-newskarobar

यो पनि पढ्नुहोस्

छठ पर्वको तयारीमा जुट्यो मधेस

प्रकाशित समय १६:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु