गृहपृष्ठ निर्वाचन र आमसञ्चार विषयक कार्यशाला सुरु

निर्वाचन र आमसञ्चार विषयक कार्यशाला सुरु

पत्रकार महिलाका लागि निर्वाचन र आमसञ्चार विषयक कार्यशाला यहाँ आजदेखि सुरु भएको छ । युएनडिपी, संयुक्त राष्ट्रसंघ निर्वाचन सहयोग कार्यक्रम, युनेस्को, निर्वाचन आयोगको सहयोगमा सञ्चारिका समूह नेपालले आयोजना गरेको कार्यशालामा प्रदेश ५ मा कार्यरत २७ पत्रकार महिलाको सहभागिता छ ।

तालिमको शुभारम्भ गर्दै सञ्चारिका समूहका पूर्वअध्यक्ष बबिता बस्नेतले पत्रकारले कुनै एक विषयमा समाचार संकलन गरेर मात्र नपुग्ने भएकाले सबै विषयमा जानकार हुनु आवश्यक रहेको बताइन् । जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका प्रमुख अयोध्याप्रसाद भण्डारीले निर्वाचन प्रक्रिया र प्रणालीबारे पत्रकार सचेत भए मात्रै जनतामा सही सूचना जाने बताए ।

सञ्चारिका समूहका अध्यक्ष नितु पण्डितले पत्रकारितालाई जनतामाझ विश्वासिलो बनाउन निर्वाचन सम्बन्धमा गरिने सबै सामग्री तथ्यपरक हुनुपर्ने भएकाले महिला पत्रकारका लागि कार्यशाला आयोजना गरिएको जानकारी गराइन् । मणिग्राममा आयोजित तीनदिने कार्यशालामा नेपाली मिडियाको अवस्था र मिडिया नीति, निर्वाचनमा मिडियाको भूमिका, अभिव्यक्ति स्वतन्त्रता र निर्वाचन, सामाजिक सञ्जाल र महिला पत्रकारको सुरक्षा अवस्थालगायत विषयमा विज्ञले प्रशिक्षण दिने सञ्चारिका समूहका महासचिव विमला तुम्खेवाले जानकारी दिइन् ।

कार्यशालामा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्ट, सञ्चारिका समूहका पूर्वअध्यक्ष बस्नेत, सञ्चारिका समूहका अध्यक्ष पण्डित, जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका प्रमुख भण्डारीले प्रशिक्षण दिने कार्यक्रम छ । कार्यशालाको अन्तिम दिन प्रदेश ५ का महिला राजनीतिज्ञसँग अन्तर्क्रिया कार्यक्रम राखिएको सञ्चारिका समूहका कार्यक्रम संयोजक रुपा बस्नेतले जानकारी दिइन् । (रासस)

प्रकाशित समय १४:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु