गृहपृष्ठ पोखरामा हरिबोधिनी एकादशीको रमझम (फोटो फिचरसहित)
पोखरामा हरिबोधिनी एकादशीको रमझम (फोटो फिचरसहित)
हरिबोधीनी एकादशी (ठूली एकादशी) पर्व पोखरामा धुमधामका साथ मनाइएको छ । कार्तिक शुक्ल (हरिबोधिनी) एकादशी पर्वको अवसरमा पोखरा क्षेत्रमा विष्णु भगवानको पूजाआजा गरी तुल्सीघाटमा फूल अर्थात् तोरण टाँग्दै भजन कीर्तनका साथ हरिबोधिनी एकादशी पर्व मनाएका हुन् ।
तुल्सीघाटमा पोखरा क्षेत्रबाट २६ वटा भन्दा बढी तोरण टाँगिएको नयाँबजार रामघाट धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष रामजीप्रसाद कोइरालाले जानकारी दिए । गत वर्ष ३२ वटा तोरण टाँगिएका थिए । २०७४ सालमा ४४ वटा तोरण टाँगिएका थिए । हरेक वर्षजसो तोरण टाँग्नेको संख्या घट्दो रहेको समितिले जनाएको छ ।
समितिले विभिन्न दाताबाट करिब १० लाख रुपैयाँ आर्थिक संकलन गर्ने लक्ष्य राखेको छ । विभिन्न तोरण टाँग्ने टोली र भक्तजनले सहयोग गरेको अध्यक्ष कोइरालाले जनाए । पोखरा महानगरपालिका ९ ले ५० हजार र राम मन्दिर सेवा समितिले १० हजार प्रदान गरेको समितिले जनाएको छ ।
कार्यक्रम स्थलमा तोरणसँगै आएका भजनकीर्तन समूहले आ-आफ्नो प्रस्तुति दिएसँगै उनीहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको छ । केदारेश्वर महादेवमणि मन्दिरका संरक्षक डा. लेखनाथ आचार्यले हरिबोधिनी एकादशीसम्बन्धी प्रवचन दिएका थिए । शुक्रबार बेलुका समितिले विन्ध्यवासिनी मन्दिरका वटुकबाट गंगा आरती आयोजना गरेको छ ।
श्रीपती कोइराला गुठी र नेवाः मिस पुचः नयाँबजार पोखराले भक्तजनलाई निःशुल्क पिउने पानी वितरण गरेको समितिका उपाध्यक्ष बोधकुमार श्रेष्ठले बताए । हरिबोधीनी एकादशीको दिन भगवान विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरिन्छ भने हरिशयनी एकादशीका दिन घर-घरमा रोपिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिंगारी फूलमालाले सजाएर विवाह गर्ने चलन छ ।
प्रकाशित समय १७:४३ बजे






















