गृहपृष्ठ १३औं सागमा फोटो र भिडियो खिच्न नदिने सम्झाैताको पिजे क्लबद्वारा विरोध
१३औं सागमा फोटो र भिडियो खिच्न नदिने सम्झाैताको पिजे क्लबद्वारा विरोध
१३औं दक्षिण एसियाली खेलकुद (साग)काे खेलस्थलभित्र फोटो पत्रकार र नेपाली च्यानलका क्यामेरा पर्सनहरूलाई प्रवेश निषेध गर्न लागिएकोप्रति नेपाल खेलकुद पत्रकार मञ्च पिजे क्लबले आपत्ति प्रकट गरेकाे छ । खेलकुदकाे फोटो तथा भिडियो खिच्न नदिनेलगायतका विषय प्रजातान्त्रिक मुलुकमा स्वीकार्य नहुने पिजे क्लबले विज्ञप्तिमार्फत अवगत गराएकाे छ ।
दक्षिण एसिया ओलम्पिक काउन्सिल र प्रसारण सहयात्रीका रुपमा भारतको एनके मिडिया भेन्चर प्रालिबीच भएकाे यस्तो सम्झाैताप्रति क्लबले गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ । काउन्सिलले आइतबार विभिन्न तीन संस्थासँग फरक-फरक सम्झौता गरेको छ ।
सम्झाैतामा खेलस्थलमा फोटो पत्रकार र नेपाली च्यानलका क्यामेरा पर्सनहरूलाई प्रवेश निषेध गर्ने, फोटो तथा भिडियो खिच्न नदिनेलगायतका केही प्रावधानहरू उल्लेख छ । साे प्रावधानकाे विराेधस्वरूप नेपाल खेलकुद पत्रकार मञ्च र पिजे क्लबले आइतबार साँझ नै दक्षिण एसिया ओलम्पिक काउन्सिल र राखेपलाई ज्ञापन पत्र बुझाएको छ।
मञ्चका कार्यबाहक अध्यक्ष ध्रुब तुलाधर र पिजे क्लबका अध्यक्ष विकास कार्कीले दक्षिण एसिया ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठ र राखेप सदस्यसचिव रमेशकुमार सिलवाललाई ज्ञापन पत्र बुझाएका थिए । यससँगै अध्यक्ष श्रेष्ठ र सदस्यसचिव सिलवालले अन्तर्राष्ट्रिय प्रचलनअनुसार निर्वाधरुपमा फोटो पत्रकारलाई फोटो खिच्न दिने र भिडियो उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘सूचनाको अधिकारबाट बञ्चित गर्ने काम नेपाल खेलकुद पत्रकार मञ्च र पिजे क्लबलाई कदापि स्वीकार्य हुनेछैन। यस्ता कदमविरुद्ध हामीले विगतदेखि नै सशक्त रुपमा आवज उठाउँदै आएका छाैँ । र यो भोलिका दिनमा पनि कायम रहनेछ ।’ क्लबले विज्ञप्तिमा उल्लेख गरेकाे छ ।
प्रकाशित समय १२:३४ बजे

















