गृहपृष्ठ कर्णालीमा खाद्य विधेयकमाथि सुझाव संकलन हुँदै

कर्णालीमा खाद्य विधेयकमाथि सुझाव संकलन हुँदै

कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिले खाद्य विधेयकका लागि सुझाव संकलन गरेको छ । प्रदेशका दुर्गम जिल्लामा गई खाद्य विधेयकमा थप्न आवश्यक विषयसम्बन्धी सुझाव संकलन भइरहेको समितिका सदस्य सांसद पद्मा खड्काले बताइन् ।

उनले डोल्पाका नागरिक अगुवा, राजनीतिक दल, प्रशासन लगायतलाई समेटेर सुझाव संकलन गरिएको जानकारी दिइन् । कर्णाली प्रदेशमा खाद्य उत्पादन अधिकार तथा सम्प्रभुता सुनिश्चित गर्न बनेको विधेयक २०७५ माथि नागरिकले कस्तो अपेक्षा गरेका छन् भनी सुझाव संकलन भइरहेको उनले बताइन् । उनका अनुसार समितिले अझै केही जिल्लामा सुझाव संकलनका लागि जाने तयारी गरेको छ ।

उनले खाद्यान्न अभाव भइरहने साविकको कर्णालीमा खाद्य विधेयकमाथि छलफल चलाउँदा नागरिक उत्साहित भएको बताइन् । डोल्पामा विधेयकमाथि छलफल हुँदा नागरिकले सबै स्थानमा खाद्य पुर्‍याउने र उत्पादनलाई समेत बढाउने गरी कानून निर्माण गर्नुपर्ने सुझाव दिएका थिए ।

सांसद ठम्मर विष्टले संसदमै पनि संशोधन प्रस्ताव परेकाले सामाजिक समितिमा गहन छलफलपछि मात्रै उक्त विधेयक पास हुने बताए । विधेयकले पोषण, खाद्य व्यवस्थापन, जमिन खण्डीकरण तथा कृषिका कुरासमेत समेटेको सांसद विष्टले बताए ।

प्रकाशित समय १७:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु