गृहपृष्ठ धुलियाबिट-भेडाबारी सडकको सर्वेक्षण सुरु

धुलियाबिट-भेडाबारी सडकको सर्वेक्षण सुरु

मदन भण्डारी राजमार्गअन्तर्गत धुलियाबिट-भेडाबारी सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने कार्य सुरु भएको छ । यसका लागि करिब ३७ किलोमिटर सडक खण्डमध्ये ३५ किलोमिटर सम्मको सर्भे सुरु भएको सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए ।

उनका अनुसार मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालय काठमाडौँले परामर्शदातालाई सर्भेको लागि पठाएको हो । ‘धुलियाबिट-भेडाबारी सडकको सर्भे पहिले पनि भइसकेको हो,’ उनले भने, ‘पुन अन्तिम सर्भेको लागि निर्देशनालयले परामर्शदातालाई पठाएको छ ।’

पहिले सर्भे भएअनुसार ३५ किलोमिटर सडक खण्ड भए पनि भेडाबारी पुलसम्म ३७ किलोमिटर लम्बाइ रहेको छ । प्रारम्भिक अध्ययन प्रतिवेदन सकिएपछि सडक निर्माणमा कति खर्च लाग्ने र कति समयमा काम सकिने भन्ने निर्क्याेल हुने उनले बताए । प्रमुख अधिकारीले मदन भण्डारी राजमार्गको काम निर्देशनालयले हेर्ने कि सुर्खेतमा कार्यान्वयन ईकाई राख्ने भन्ने टुङ्गो लागिनसकेको जानकारी दिए ।

कार्ड कन्सल्टेन्सी काठमाडौँले सर्भेको काम गरिरहेको हो । कन्सल्टेन्सीका ओभरसियर राजेन्द्र श्रेष्ठका अनुसार एक हप्ता अवधिमा करिब १५ किलोमिटर सडकको सर्भे भएको छ ।

बुधबार कर्णाली प्रदेश सभा सांसद ठम्मर विष्टले समेत राजमार्गको अनुगमन गरेका थिए । सुर्खेत पूर्वका जनताको ‘लाइफ लाइन’ भएको मदनभण्डारी राजमार्ग छिटोभन्दा छिटो सक्नको लागि आफूले सक्दो पहल गर्ने विष्टले प्रतिवद्धता जनाए । यसका लागि प्रारम्भिक अध्ययन प्रतिवेदन सकिएलगत्तै आफू लागिपर्ने बताए ।

प्रकाशित समय १७:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु