गृहपृष्ठ लेखापाल नहुँदा दुई गाउँपालिकाको आर्थिक कारोबार ठप्प
लेखापाल नहुँदा दुई गाउँपालिकाको आर्थिक कारोबार ठप्प
म्याग्दीको अन्नपूर्ण र मालिका गाउँपालिकामा लेखापाल नहुँदा आर्थिक कारोबार ठप्प भएको छ । दुईवटै गाउँपालिकाका कार्यालय गत साउन महिनादेखि लेखापालविहीन छन् । लेखापाल नहुँदा गाउँपालिकाद्वारा सञ्चालित विभिन्न योजनाको उपभोक्ता समितिलाई दिनुपर्ने भुक्तानी रोकिएको छ ।
शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीलाई तलब खुवाउन समस्या भएको छ । कार्यरत लेखापाल समायोजनपछि अन्यत्र सरुवा भएर गएको र नयाँ नआएकाले समस्या भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए । ‘लेखापाल पठाउन अनुरोध गर्दै कोष तथा लेखा नियन्त्रकको कार्यालय, प्रशासन हुँदै संघीय सरकारका मन्त्रालयसम्म पुग्यौं तर कोही आएनन्,’ अध्यक्ष पुनले भने, ‘कार्यालय सञ्चालनका लागि महत्वपूर्ण लेखा शाखा कर्मचारीविहीन भएपछि आर्थिक करोबार ठप्प भएको छ ।’
सम्झौता भएका योजनाका उपभोक्ता समितिलाई पेस्की र काम सकेका योजनाको भुक्तानीदेखि कर्मचारीलाई तलब खुवाउनेलगायत सबै आर्थिक कारोबार ठप्प भएको मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले बताइन् । बजेट विनियोजन भएका योजना तथा कार्यक्रम कार्यान्वयन हुन सकेको छैन । मालिका गाउँपालिकामा सात वडा छन् । सात वटै वडा कार्यालय पनि सचिवविहीन भएका छन् । सचिवको विकल्पमा स्वास्थ्य संस्थाका अनमीलाई पञ्जिकाधिकारीको समेत जिम्मेवारी दिएको मालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य विश्वकर्माले बताए ।
आठ वडा रहेको अन्नपूर्ण गाउँपालिकामा पनि तीन मात्र सचिव छन् । एक सचिवलाई तीन वडासम्मको जिम्मेवारी दिएको प्रमुख प्रशासकीय अधिकृत केदारनाथ शर्माले बताए । वडा नं ८ राम्चेमा पञ्जाधिकारीको जिम्मेवारी अनमी बनिका गर्बुजालाई दिइएको छ ।
साविककै दरबन्दीअनुसार पदपूर्ति हुन नसकेको र दुर्गमका स्थानीय तहमा कर्मचारी जान नमानेका कारण समस्या भएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । वडासचिव, कम्प्युटर अपरेटर, इन्जिनियर, सबइन्जिनियर, लेखापाल पदका कर्मचारीको अभाव भएको हो ।
कतिपय लेखापालले दुई वटा कार्यालयको जिम्मेवारी सम्हालेका छन् । कोष तथा लेखा नियन्त्रक चन्द्रशेखर सापकोटाले अन्य कार्यालयका लेखापाललाई गाउँपालिकाको पनि जिम्मेवारी दिएको बताए । कोलेनिकाले खटाएका लेखापालहरूले स्थानीय तहमा दबाबमा काम गर्नुपर्ने भएकाले त्यहाँ गएर काम गर्ने वातावरण नभएको प्रतिक्रिया दिएका छन् । (रासस)
प्रकाशित समय १०:३० बजे

















