गृहपृष्ठ प्रहरीद्वारा ४१ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
प्रहरीद्वारा ४१ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
भैरव नवदीप मावि रैनादेवी छहरा गाउँपालिका पाल्पाका ४१ विद्यार्थीलाई प्रहरीद्वारा शैक्षिक सामग्री वितरण गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पा र नेपाल पुस्तक तथा स्टेसनरी महासंघ पाल्पाको सहकार्यमा विद्यालयमा अध्ययनरत जेहेन्दार, गरिब, असहाय, विपन्न विद्यार्थीलाई सामुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बुधबार शैक्षिक सामग्री वितरण गरिएको हो ।
विभिन्न संघसंस्थाको सहयोगमा कापी, कलमलगायतका शैक्षिक सामग्री वितरण गरिएको छ । आर्थिक अवस्था कमजोर रहेका परिवारका बालबालिकालाई पढाइमा सहयोग पुगोस् भनेर संघसंस्थाहरूबाट शैक्षिक सामग्री संकलन गरी विभिन्न विद्यालयमा पुगेर वितरण गरिरहेको पाल्पाका प्रहरी नायब निरीक्षक कृष्णराज सापकोटाले बताए । संस्थाले यसभन्दा अघि पनि छ विद्यालयमा शैक्षिक सामग्री वितरण गरिसकेको छ ।
पाल्पामा करदाताको संख्या बढ्यो
पाल्पा जिल्लामा पछिल्लो समय करदाताको संख्या बढेको छ । यस आर्थिक वर्षको पहिलो चौमासिकको अवधिमा मात्रै ३८ प्रतिशतले वृद्धि भएको पाइएको छ । पहिलो चौमासिकको अवधिमा जिल्लामा २९ हजार ९२९ करदाता रहेको करदाता सेवा कार्यालयले जनाएको छ । आव २०७५/७६ को असार मसान्तसम्ममा २१ हजार ६७१ करदाता रहेका थिए ।
करको दायरा बढ्नु, कर शिक्षा प्रभावकारी हुनु, आर्थिक कारोबार गर्ने सबैलाई अनिवार्य रूपमा प्यान नम्बर लिनुपर्नेजस्ता कारणले करदाताको संख्या बढ्न गएको करदाता सेवा कार्यालयका प्रमुख सागर पोखरेलले बताए ।
करदाताको संख्या वृद्धि भएसँगै चालु आवको चार महिनाको अवधिमा २१ करोड ५५ लाख रकम संकलन भएको छ । अघिल्लो आवको अवधिमा ४५ करोड ३१ लाख ३ हजार ४४३ रुपैयाँ राजस्व संकलन भएको थियो । यस वर्ष सरकारले नीति तथा कार्यक्रममा बजेटसँगै करको दायरामा वृद्धि गरेकाले करदाताको संख्यासँग राजस्व पनि बढेको हो । पाल्पाको सदरमुकाम तानसेनमा रहेको करदाता सेवा कार्यालयले गुल्मी जिल्लामा पनि सेवा दिँदै आइरहेको छ । (रासस)
प्रकाशित समय १०:४१ बजे

















