गृहपृष्ठ बनेपामा प्रहरी कार्यालयको भवन शिलान्यास
बनेपामा प्रहरी कार्यालयको भवन शिलान्यास
इलाका प्रहरी कार्यालय बनेपाको भवन आज बनेपा नगर प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठले शिलान्यास गरेका छन् ।
प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश ३ को आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त भवन ५ करोड ८४ लाख ७५ हजार रुपैयाँमा निर्माण हुने इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले बताए ।
किराँतेश्वर आर एन्ड सी जेभीले ठेक्का पाएको उक्त भवन निर्माणको असोज १३ गते सम्झौता भएको हो । आगामी विसं २०७७ पुस १३ गते सम्पन्न गर्नुपर्ने भवनमा कार्यालय भवन, मेस, शौचालय, पानीट्यांकी र सेफ्टी ट्यांकी निर्माण हुनेछ ।
प्रदेश सरकारको आर्थिक सहयोगमा बन्न लागेको इलाका प्रहरी कार्यालय र प्रहरी चौकीमध्येको यो पहिलो भवन शिलान्यास हो । प्रदेश सरकारको सहयोगमा जिल्लामा इलाका प्रहरी कार्यालय र प्रहरी चौकी गरी आठ वटा निर्माण गर्नेछन् । जसअन्तर्गत इलाका प्रहरी कार्यालयमा बनेपा, बनखु र गोकुले त्यस्तै प्रहरी चौकीमा फलाँटे, तेमालबेंसी, तालढुंगा, फोक्सिङटार र फलामेसाँघु रहेको छ ।
त्यसका लागि निर्माण गर्न आव २०७५/०७६ मा १३ करोड ८१ हजार रुपैयाँ रकम प्राप्त भएकामा कार्य सम्पन्न गर्न १७ करोड ७९ लाख ४० हजार २९६ रुपैयाँ आवश्यक भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । (रासस)
प्रकाशित समय १४:५८ बजे

















