गृहपृष्ठ लैंगिक हिंसाविरुद्धको अभियान प्रभावकारी बनाइने

लैंगिक हिंसाविरुद्धको अभियान प्रभावकारी बनाइने

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले विभिन्न चेतनामूलक कार्यक्रम गरी लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान मनाउने तयारी गरेको छ । लैंगिक हिंसाविरुद्ध १६ दिने वर्ष अभियानलाई प्रदेशका १२ वटै जिल्लामा पुर्‍याउने गरी तयारी गरिएको मन्त्रालयले जनाएको छ ।

अभियानलाई प्रभावकारी र रचनात्मक बनाउन सरोकारवालाहरूको सुझाव लिएर कार्यक्रम तय गरिएको सामाजिक विकासमन्त्री सुदर्शन बरालले बताए । ‘लैंगिकताबारे बुझाइमा स्पष्टता ल्याउन रचनात्मक र प्रभावकारी कार्यक्रम गर्ने तयारी गरेका छौं,’ उनले भने । मन्त्रालयले लैंगिकमैत्री बजेट र कार्यक्रम तय गरे पनि पर्याप्त कर्मचारी नहुँदा सबै जिल्लामा पुग्न भने कठिनाइ भएको मन्त्री बरालको भनाइ छ ।

मन्त्रालयले सरोकारवालाहरूको सहभागितामा चेतनामूलक कार्यक्रम गरेर लैंगिक हिंसाविरुद्ध १६ दिने वर्ष अभियान मनाउने सामाजिक विकास महाशाखा प्रमुख शारदा बस्यालले बताए । लैंगिक हिंसा हुनै नदिने वातावरण तयार पार्न सबै संघसंस्था र स्थानीय तहसँग मिलेर वर्षभरि सचेतना र सशक्तीकरणका कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ ।

मन्त्रालयले लैंगिक हिंसा निवारणका लागि सैनामैनामा ज्येष्ठ नागरिक र अपांगता ग्राम निर्माणको प्रक्रिया अगाडि बढाएको छ । यस्तै बालश्रम र बालविवाहविरुद्धको प्रदेशस्तरीय सम्मेलन, किशोर-किशोरीमाथि हुने शारीरिक तथा यौनजन्य दुर्व्यवहारविरुद्ध सचेतनामूलक कार्यक्रम गर्ने मन्त्रालयको योजना छ ।

प्रदेशमा हिंसाका घटना बढ्दै गएकाले हिंसा प्रभावित क्षेत्रमा लैंगिक हिंसाविरुद्धका कार्यक्रमहरू केन्द्रित गर्नुपर्ने उपसभामुख कृष्णी चौधरीको भनाइ छ । ‘लैंगिक हिंसाविरुद्ध अभियान चलाउँदा घरेलु हिंसा बढी भएको स्थानलाई प्राथमिकतामा राखेर कार्यक्रम तय गर्नुपर्छ,’ उनले भने ।

हिंसाका घटनालाई राजनीतिकरण गरिँदा पीडितले न्याय नपाएको र पीडकले उन्मुक्ति पाउने गरेकाले यस्तो अवस्थाको अन्त्यका लागि दबाबमूलक कार्यक्रम गर्नुपर्ने प्रदेशसभा सदस्य जाल्पा भुसाल बताउँछिन् ।

लैंगिक हिंसाविरुद्ध १६ दिने वर्ष अभियानमा मानव अधिकार दिवससमेत परेका कारण प्रदेश ५ को मानव अधिकार आयोगले पनि सचेतनामूलक कार्यक्रमको तयारी गरेको छ । ‘म हिंसा गर्दिनँ, हिंसा सहन्न र हिंसा हुने वातावरण बन्न दिन्न’ भन्ने भावना राखेर सचेतनामूलक कार्यक्रम तय गर्ने आयोगका निर्देशक सम्झना शर्माले बताइन् ।

प्रदेशका स्थानीय तहले पनि लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानमा सचेतनमूलक कार्यक्रम गर्ने तयारी गरेका छन् । यस १६ दिने अभियानमा बुटवल उपमहानगरपालिकाले विद्यालयका प्रधानाध्यापकहरूसँग लैंगिकमैत्री विद्यालय सम्बन्धमा छलफल गर्ने कार्यक्रम तय भएको उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले जानकारी दिइन् ।

यसबाहेक सामाजिक संघसंस्थासँग मिलेर अन्य चेतनामूलक कार्यक्रम गर्ने तयारी गरिएको उनले बताइन् । प्रदेशमा क्रियाशील विभिन्न गैरसरकारी संस्थाले पनि छुट्टाछुट्टै कार्यक्रमको तयारी गरेका छन् । यो वर्ष ‘समानताको पुस्ता : बलात्कारविरुद्धको ऐक्यबद्धता’ भन्ने मूल नारासहित मंसिर ९ गतेदेखि लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान मनाइँदै छ । (रासस)

प्रकाशित समय १४:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु