गृहपृष्ठ स्पेनमा जारी कोप २५ मा कस्ता विषय समेटिएलान् ?

स्पेनमा जारी कोप २५ मा कस्ता विषय समेटिएलान् ?

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्ष राष्ट्रको २५औँ सम्मेलन (कोप २५) मा नेपालले कार्बनको व्यापारसम्बन्धी विषयलाई प्राथमिकताका साथ उठाउने भएको छ ।

धेरै कार्बन उत्सर्जन गर्ने विकसित राष्ट्रले विकासोन्मुख राष्ट्रले सञ्चित गरेको कार्बन खरिदका लागि सरल प्रक्रिया र उच्च मूल्य हुनुपर्ने तथा विकासोन्मुख मुलुकलाई फाइदा हुने गरी त्यसको संयन्त्र निर्माण हुनुपर्ने नेपाललगायत विषय अतिकम विकसित मुलुकको कार्यसूचीमा समेटिएको छ । कोप २५ यही मंसिर १६ देखि २७ गतेसम्म (डिसेम्बर २ देखि १३ सम्म) स्पेनको म्याड्रिडमा हुँदै छ ।

कोप २५ चिलीको सान्टियगोमा तय भए पनि त्यहाँको राजनीतिक अस्थिरताका कारण स्पेनको म्याड्रिडमा सारिएको हो । सम्मेलनको अध्यक्षता चिलीले नै गर्नेछ ।

सम्मेलनको तयारीका लागि नेपालले जलवायु परिवर्तनसम्बन्धी सरकारी तथा गैरसरकारी सरोकारवालासँग विभिन्न चरणमा छलफल गरी अवधारणा पत्र (स्टाटस पेपर) तयार गरेको वन तथा वातावरण मन्त्रालय जलवायु परिवर्तन महाशाखा प्रमुख डा. महेश्वर ढकालले जानकारी दिए । जलवायु परिवर्तनका असरका कारण नेपालका हिमशिखर पग्लने, अतिवृष्टि, अनावृष्टि र खण्डवृष्टि हुने तथा परिणामस्वरूप बाढी, पहिरो, मरुभूमिकरण र खडेरीजस्ता प्रभाव देखिने गरेका छन् ।

उक्त पत्रमा नेपालको समग्र जलवायु परिवर्तनको अवस्था, अनुकूलन र न्यूनीकरणमा नेपालले खेल्नुपर्ने भूमिका, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण गर्न बढीभन्दा बढी आर्थिक सहयोग कसरी जुटाउने, कोप २५ औँ सम्मेलनमा बोल्नुपर्नेलगायत विषय समेटिएका छन् ।

यो सम्मेलन अहिलेका जलवायु परिवर्तनका क्षेत्रमा देखिएका नकारात्मक प्रभाव वा जोखिमलाई न्यूनीकरण गर्न र यसका परिवर्तनबाट अनुकूलित समाजको निर्माण गर्दै मानव जीवनलाई उत्थानशील समाजका रूपमा परिवर्तन गर्न महत्वपूर्ण रहेको कोप २५ का लागि नेपालका सम्पर्क अधिकृतसमेत रहेका ढकालले बताए ।

साथै कोप-२१ ले पारित गरेको पेरिस सम्झौता (पृथ्वीको तापक्रम वद्धि १.५ डिग्रीमा सीमित गर्ने र त्यो नसके २ डिग्रीभन्दा बढ्न नदिने भनिएको थियो) लाई कार्यान्वयन गर्नका लागि योजना पेस गर्न पनि कोप २५ महत्वपूर्ण छ ।

तापक्रम सीमित राख्न योजना आवश्यक

पेरिस सम्झौताअनुसार जलवायु परिवर्तनका असर न्यूनीकरणमा काम गर्न प्रत्येक राष्ट्रले राष्ट्रिय योगदान प्रतिबद्धता (एनडिसी) मा जलवायु परिवर्तनसम्बन्धी सम्पूर्ण कार्यका लक्ष्य, समय र रकम पनि निर्धारण गर्नुपर्ने जलवायु परिवर्तन क्षेत्रका विज्ञ मन्जित ढकालले बताए । सन् २०१६ मा सम्मेलनका पक्ष राष्ट्रहरूले बुझाएको एनडिसी प्रारम्भिक चरणको भएको हुनाले त्यो पर्याप्त छैन ।

यही बीचमा यस क्षेत्रको वैज्ञानिक निकाय ‘इन्टरनेसनल गभर्मेन्टल प्यानल अन क्लाइमेट चेन्ज (आइपिसिसी)’ ले १.५ डिग्रीको प्रतिवेदन प्रकाशित गरेको थियो ।

प्रतिवेदनले सबै पक्ष राष्ट्रलाई पृथ्वीको तापक्रम १.५ मा सीमित राख्न जलवायु परिवर्तन, न्यूनीकरण र अनुकूलनका लागि धेरै महत्वाकांक्षी कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाएको जलवायु परिवर्तनका विज्ञ ढकालले बताए । जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न सबै राष्ट्रलाई एनडिसीको महत्वाकांक्षी लक्ष्य राख्न उत्साही गर्न पनि यो सम्मेलन महत्वपूर्ण मानिएको उनले बताए ।

मुख्यगरी औद्योगिक, विकसित र तीव्र गतिमा विकास भइरहेका राष्ट्रले आफ्नो कार्बन उत्सर्जनको मात्रालाई न्यूनीकरण गर्नुपर्छ र त्यसका लागि केही विकासका गतिविधिमा सम्झौता पनि गर्नुपर्ने आइपिसिसीको प्रतिवेदनमा उल्लेख छ ।

त्यो गर्न नसके मानव र प्रकृतिको प्रणालीमा परिवर्तन आउन सक्ने र धेरै प्रजाति र वनस्पति लोप हुने, खाद्यान्नको अभाव हुने, बाढी पहिरोजस्ता प्रकोप धेरै आउने प्रतिवेदनमा चेतावनी दिइएको छ ।

प्रतिवेदनको यही निष्कर्षलाई आधार मानेर गत सेम्टेम्बेर २३ मा संयुक्त राष्ट्रसंघका महासचिवले जलवायु परिवर्तनसम्बन्धी ‘क्लाइमेट एक्सन समिट’ पनि आयोजना गरेका थिए । विश्वका धेरै राष्ट्र र सरकार प्रमुखलाई बोलाएर महत्वाकांक्षी योजनाका साथ भाषण होइन योजना ल्याएर आउनुपर्छ भनेर आह्वानसमेत गरिएको थियो ।

नेपालले पनि मन्त्रिस्तरीय उपस्थिति भएर आफ्नो प्रतिबद्धता गरेको मन्त्रालयले जनाएको छ । यसमा सबै राष्ट्र जागरुक भएर तदारुकताका साथ आएको भने देखिँदैन ।

‘क्लाइमेट एक्सन समिट’ ले गरेको आह्वान र यही बीचमा कोस्टारिकामा २५औँ सम्मेलनको पूर्वतयारी बैठक आयोजना गरिएको थियो । त्यो बैठकमा पनि सबै राष्ट्रलाई महत्वाकांक्षी योजनाका साथ आउन आह्वान गरिएको थियो ।

गत अक्टोबरको २४ र २५ मा भुटानको थिम्पुमा भएको अतिकम विकसित राष्ट्रको सम्मेलनमा ४७ राष्ट्रका प्रतिनिधिले पनि जलवायु परिवर्तनको विषयलाई भाषणमा भन्दा पनि कार्यान्वयनमा जानुपर्नेमा जोड दिएकाले सम्मेलन महत्वपूर्ण मानिएको छ । (रासस)

प्रकाशित समय १०:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु