गृहपृष्ठ काठमाडौँ उपत्यकामा चिसो बढ्यो
काठमाडौँ उपत्यकामा चिसो बढ्यो
काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ भने देशभर चिसो बढेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम ८ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ । मंगलबार उपत्यकाको न्यूनतम तापक्रम ११.५ डिग्री सेल्सियस थियो ।
पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्ने क्रम सुरु भएको मौसमविद् समीर श्रेष्ठले बताए । उनका अनुसार राति बदली भए तापक्रम घट्ने र आकाश खुला भए तापक्रम बढ्ने हुन्छ । चिसो बढ्ने क्रममा छ । ‘यस वर्ष उपत्यकाको तापक्रम शून्य डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । माइनसमा पुग्ने सम्भावना भने छैन,’ मौसमविद् श्रेष्ठले भने । अबको केही दिन तापक्रम घटबढ भइरहने छ ।
पश्चिमी वायु सक्रिय भएकाले देशको पश्चिमी तथा मध्य हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पोखरा, दाङ, धनकुटा, दिपालय, वीरेन्द्रनगरको न्यूनतम तापक्रम १२.५ डिग्री सेल्सियस छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ०.५ डिग्रीमा झरेको छ । (रासस)
प्रकाशित समय १२:३३ बजे

















