गृहपृष्ठ सत्य निरुपण तथा मेलमिलाप आयोगको ५०९ उजुरीउपर छानबिन

सत्य निरुपण तथा मेलमिलाप आयोगको ५०९ उजुरीउपर छानबिन

सत्य निरुपण तथा मेलमिलाप आयोग प्रदेश ५ को मुकाम तुलसीपुरले ५०९ वटा उजुरीको प्रारम्भिक अनुसन्धान गरेको छ । आयोगको केन्द्रीय कार्यालयले आज तुलसीपुरमा आयोजना गरेको कार्यसम्पादन मूल्यांकन तथा भावी कार्यनीतिका विषयमा छलफल कार्यक्रममा उक्त प्रतिवेदन प्रस्तुत गरेको थियो ।

विसं २०७४ देखि सञ्चालनमा आएको उक्त कार्यालयमा १ हजार ७९९ उजुरी पठाइएका थिए । साथै आयोगका सहन्यायाधिवक्ता टेकबहादुर घिमिरेका अनुसार देशभर ६३ हजार ९५० निवेदन आयोगमा दर्ता भएका छन् । पछिल्लो एक वर्षदेखि अयोगले पूर्णता नपाउँदा देशभरका काम ठप्प भएको छ । तुलसीपुर मुकाममा पनि गत वर्षको फागुनदेखि काम ठप्प छ ।

आयोगले पूर्णता पाएपछि काम सुरु हुनेसमेत उनले बताए । साथै आगामी दिनमा आयोगको थप कार्यालय विस्तार गर्ने वा हटाउने, आगामी दिनमा कसरी कार्यसम्पादन सहज बनाउने भन्ने विषयमा समेत छलफल भएको थियो । तत्कालीन नेकपा (माओवादी) र राज्यपक्षबाट पीडित भएकाको उजुरीको सुनुवाइ तथा प्रारम्भिक अनुसन्धान तथा न्यायिक व्यस्थापन गर्ने उद्देश्यले मुकाम खोलिएको हो ।

त्यस अवसरमा उच्च सरकारी वकिल कार्यालयका सहन्याधिवक्ता ईश्वरीप्रसाद बञ्जाडेले मुकाम कार्यालयलाई पनि पीडितलाई राहत दिने गरी अधिकार दिनुपर्ने बताए । उनले अहिले भएका कर्मचारीको संख्या घटाएर ती कर्मचारीले खाने तलब पीडितलाई दिनुपर्ने बताए । करारमा कर्मचारी भर्ना गर्दा द्वन्द्वपीडित परिवारलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।

तलब कटाएर द्वन्द्वपीडितलाई सहयोग

उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता ईश्वरीप्रसाद बञ्जाडेले आफ्नो तलबको केही रकम द्वन्द्वपीडितलाई सहयोग गर्ने घोषणा गरेका छन् । उनले आफ्नो तलबको १० प्रतिशत हुन आउने रकम मासिक ५ हजार द्वन्द्वपीडितलाई सहयोग गर्ने घोषणा गरेका हुन् । उनले उक्त रकम रोल्पा थबाङका द्वन्द्वपीडितका विद्यार्थी तथा आमा समूहलाई सहयोग गर्ने बताए । अन्य कर्मचारी तथा जनप्रतिनिधिलाई यो कार्यमा प्रोत्साहन गर्न आफूले यसरी सहयोग घोषणा गरेकोसमेत बताए । (रासस)

 

प्रकाशित समय १३:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु