गृहपृष्ठ झ्याल फुटाएर सुधार गृहबाट भागेका दुवै बालक पक्राउ

झ्याल फुटाएर सुधार गृहबाट भागेका दुवै बालक पक्राउ

सुधार गृह संकेतिक तस्वीर

विराटनगरस्थित बालसुधार गृहको झ्याल फुटाइ हामफालेर पाँच दिनअघि भागेका दुई बालक पक्राउ परेका छन् । एक जनालाई मोरङको गोठगाउँबाट शुक्रबार राति र अर्कोलाई झापाको बिर्तामोडबाट शनिबार बिहान पक्राउ गरिएको मोरङका एसपी विश्व अधिकारीले जानकारी दिए ।

दुवै जनालाई पक्राउ गर्नका लागि प्रदेश १ प्रहरीले विशेष टोली परिचालन गरेको थियो अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा रहेका दुवै बालक बालसुधार गृहको तेस्रो तलाको झ्याल फुटाएर गत सोमबार बिहान फरार भएका थिए । २४ घण्टा नै प्रहरीको सुरक्षा हुने सुधार गृहको तेस्रो तलाको झ्यालको ग्रील निकाल्दै पछाडिबाट हामफालेर उनीहरु फरार भएको एसपी अधिकारीले बताए ।

एसपी अधिकारीका अनुसार उनीहरुलाई आफ्नै गाउँमा पुगेर लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो । मोरङको सुन्दरहरैंचा नगरपालिका– ७ का १७ वर्षीय बालकलाई जबर्जस्ती करणी मुद्दामा मोरङ जिल्ला अदालतले गत असारमा पुर्पक्षका लागि थुनामा पठाएको थियो । ज्यान मार्ने उद्योग मुद्दामा झापाको गौरादह नगरपालिका– १ का १६ वर्षीय अर्का बालक पनि साउनदेखि थुनामा थिए ।

बालक फरार भएपछि मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुको नेत्रृत्वमा छानबिन समिति बनाइएको थियो । दुवै पक्राउ परेकाले भाग्नुको कारणबारे सबै वास्तविकता बाहिर ल्याउने गरी छानबिन गरिने डीएसपी खिउँजुले बताए । थुनामा रहेको अवस्थामा सुधार गृहबाट भागेकाले दुवैलाई कानुनबमोजिम थप कारबाही अघि बढाएर बालसुधार गृहकै जिम्मा लगाइने उनले जानकारी दिए ।

घटनामा संलग्न तथा कमजोरी रहेको पाइएमा ड्युटीमा रहेका प्रहरीमाथि पनि कारबाही गरिने प्रदेश प्रहरीले जनाएको छ । बालकहरु फरार भएका बेला सुधार गृहको सुरक्षाका लागि असई टीका राईको नेत्रृत्वमा प्रहरी टोली ड्युटीमा थिए ।

प्रकाशित समय १९:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु