गृहपृष्ठ हिंसाविरूद्ध कर्णालीका महिला : न्याय खोज्दै अदालतसम्म
हिंसाविरूद्ध कर्णालीका महिला : न्याय खोज्दै अदालतसम्म
जिल्ला अदालतमा ६० प्रतिशत मुद्दा महिलासम्बन्धी
वीरेन्द्रगनर नगरपालिका- ९, अलायचौरकी २७ वर्षीय एक युवती केही दिनअघि जिल्ला अदालत सुर्खेतमा भेटिइन् । ६ वर्षअघि प्रेमविवाह गरेकी उनी आफ्नै श्रीमानविरुद्ध अंश मुद्दा दर्ता गराउँदै थिइन् ।
विवाह भएको ६ महिनादेखि नै घरपरिवार र श्रीमानले आफूमाथि घरेलु हिंसा गरेको उनले बताइन् । दुई सन्तानकी आमा उनी दाइजो नल्याएको, अरुसँग बोलेको निहुँमा दैनिकजसो श्रीमानको कुटाई खाएपछि मुद्दा दर्ता गर्न बाध्य भइन् । ‘श्रीमानले जति कुटे पनि माइतीको ईज्जत जान्छ भनेर आठ वर्षदेखि सहेर बसेँ । अब अति नै भएपछि सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छु ।’
चौकुने गाउँपालिका सुर्खेतकी २३ वर्षीया अर्की युवतीलाई पनि छिमेकी युवासँगको प्रेमविवाह फापेन । उनलाई जातकै आधारमा विभेद गर्दै परिवारले सहनै नसक्ने पीडा दियो । उनी सासुससुरा र नन्दआमाजुबाट समेत कुटिइन् । ‘परिवारले नै सल्लाह गरेर श्रीमानलाई विदेश पठायो । उहाँले समेत वास्ता गर्नुहुन्न,’ न्याय खोज्दै अदालत आएकी उनले पीडा पोखिन् ।
उल्लिखित घटना र पात्रहरु प्रतिनिधि मात्रै हुन् । पछिल्लोसमय परिवार र श्रीमानबाट पीडित बनेका कर्णालीका महिलाहरु आफ्नो अधिकारका लागि न्यायालयको ढोकासम्म पुग्न थालेका छन् । जसको कारण हिंसाको घटनाका तथ्यांकसमेत बढेको देखिएको छ ।
जिल्ला अदालत सुर्खेतका स्रेस्तेदार भुपाल भण्डारीले अदालतमा आउने मुद्दामध्ये ६० प्रतिशत मुद्दा महिलासँग सम्बन्धित हुने गरेको बताए । उनले गत साउनदेखि मंसिर ५ गतेसम्म २१ वटा यस्ता मुद्दा दर्ता भएको जानकारी दिए । उनका अनुसार घरेलु हिंसा, मानाचामल, बलात्कार, अंशबण्डा, बहुविवाह लगायतका मुद्दा अदालतमा दर्ता हुने गरेको छ । महिलामाथिको हिंसासम्बन्धी मुद्दा बढ्नुको कारण ‘आफ्नो अधिकार प्रयोग गर्नुपर्छ । अन्याय सहनु हुन्न’ भन्ने चेतनाको विकास भएको भण्डारीको बुझाइ छ ।
कर्णाली प्रदेश प्रहरी कर्यालयका अनुसार तीन वर्षको अवधिमा कर्णालीमा २ हजार ५ सय ९ वटा घरेलु हिंसाका घटना दर्ता भएका छन् । आर्थिक वर्ष ०७३/७४ मा कर्णालीका दशवटै जिल्लामा ७ सय ९६ वटा यस्ता घटना दर्ता भएका थिए ।
यसमध्ये सबैभन्दा बढी यस्ता घटना जिल्ला प्रहरी कार्यालय सुर्खेतमा दर्ता भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका डीएसपी लोकनाथ तिमिल्सिनाले बताए । उनका अनुसार सुर्खेतमा ३ सय ७२ घटना उक्त आर्थिक वर्षमा दर्ता भएका थिए ।
त्यस्तै आर्थिक वर्ष ०७४/७५ भित्र कर्णालीमा ८ सय ५५ घरेलुहिंसाका घटना प्रहरीमा दर्ता भएका थिए । आव ०७५/७६ मा भने ८ सय ५८ हिंसाका घटना प्रहरीमा दर्ता भएको डीएसपी तिमिल्सिनाले जानकारी दिए । प्रदेश र जिल्लागत तथ्यांक हेर्दा महिला हिंसाका घटना दर्ताको संख्या प्रत्येक वर्ष बढ्दो रहेको छ ।
जिल्ला प्रहरी कार्यालयअन्तर्गत महिला तथा बालबालिका शाखाका अनुसार घरेलुहिंसाको तीन वर्षको तथ्यांक हेर्दा प्रत्येक वर्ष मुद्दाको संख्या बढ्दो छ । आव ०७३/७४ मा ३ सय ७२ र आव ०७४/७५ मा ४ सय ५९ घरेलु हिंसाका मुद्दा दर्ता भएका थिए । त्यस्तै आर्थिक वर्ष ०७५/७६ मा भने ४ सय ६६ घरेलुहिंसाका घटना दर्ता भएको कार्यालयले जनाएको छ ।
अधिवक्ता गीता कोइरालाले न्याय माग्न आउने महिलाहरुको संख्या प्रत्येक वर्ष बढ्दै गएको बताइन् । उनले महिलामा चेतना वृद्धि हुनुका साथै आर्थिक रुपमा पनि सक्षम बन्दै गएकाले आत्माबल बढेको बताइन् । ‘पहिले महिलाहरु आर्थिक रुपमा कमजोर थिए । शिक्षामा समेत पुरुषभन्दा पछाडि परेका कारण विभिन्न हिंसा सहन बाध्य थिए,’ उनले भनिन् । कानुनको परिमार्जनले पनि पछिल्लोसमय न्याय खोज्ने महिलाहरुको संख्या बढेको उनको धारणा छ ।
उनी आफैँले पनि एक वर्षको अवधिमा १ सय १८ महिलासम्बन्धी मुद्दा हेरेकी छन् । महिलाको सन्दर्भमा घरेलु हिंसा, अंशबण्डा, बलात्कार, मामनाचामल लगायतका मुद्दा आउने गरेको उनले बताइन् ।
प्रकाशित समय १५:५५ बजे

















