गृहपृष्ठ सेज आइटी पार्कजस्तो नहोस् : अर्थमन्त्री खतिवडा
सेज आइटी पार्कजस्तो नहोस् : अर्थमन्त्री खतिवडा
फाइल तस्बिर
अर्थमन्त्री डा. युवराज खतिवडाले पाँचखालमा निर्माणाधीन विशेष आर्थिक क्षेत्र (सेज) बनेपाको आइटी पार्कजस्तो प्रयोगविहीन नबनाउन आग्रह गरेका छन् ।
उनले आज पाँचखाल नगरपालिका-८ मा निर्माणाधीन सेजको निरीक्षणका क्रममा स्थानीय जनप्रतिनिधिसँग निर्माण तथा प्रयोगमा तदारुकताका साथ लाग्न आग्रह गरेका हुन् । ‘बजेटको कमी हुँदैन, बजेट अभावले काम रोकिँदैन, हामीले उद्योग मन्त्रालयसँग यसबारे समन्वय गरिरहेका छौँ,’ उनले भने । उनले भौतिक संरचना निर्माण भइसकेपछि कतिपयमा सरकारको ध्यान नजाने भएकाले आफूहरुलाई झकझकाउन आग्रह गरे ।
मन्त्री खतिवडाले बनेपामा निर्माण भएको आइटी पार्क बिजोग अवस्थामा रहेकामा दुःखेसो पोखे । उनले भने, ‘बनेपाको आइटी पार्क बिजोग अवस्थामा छ, अर्बौं लगानी गरियो, अहिले प्रयोगविहीन अवस्थामा छ, यो निकै दुःखलाग्दो विषय हो ।’ २५७ रोपनीमा फैलिएको आइटी पार्कमा दुई ठूला प्रशासनिक भवन, चार सुविधा सम्पन्न आवासीय भवन तथा अन्य आवश्यक गरी नौ भवन प्रयोगविहीन अवस्थामा छन् ।
मन्त्री खतिवडाले धुलिखेलदेखि चीनतर्फको सडक विस्तार गर्ने तयारी भइरहेको उल्लेख गर्दै सडक विस्तारपछि पाँचखालको भविष्य उच्च रहेको बताए । ‘सेजभित्र व्यवसाय गर्न सुरक्षित वातावरण आवश्यक पर्ने भएकाले विशेषगरी स्थानीय जनप्रतिनिधिले सुरक्षामा ध्यान दिनुपर्छ,’ उनले भने । स्थानीय उद्योगी व्यवसायीसँग छलफल गरी सेज सञ्चालन गरिने उनले बताए ।
मन्त्री खतिवडाले सरकार एक्लैले सेज सञ्चालन गर्न नसक्ने भएकाले स्थानीय सरोकारवालाले व्यवसायी खोज्नुपर्ने बताए । उनले भने, ‘राजमार्गदेखि सेजसम्म जाने सडक सरकारले बनाइदिन सक्छ, यसका लागि प्रदेश सरकारसँग समन्वय गर्नेछौँ ।’ उक्त अवसरमा उनले निर्माण कम्पनीलाई समयसीमाभित्र सम्झौताअनुसारको भवन बनाउन निर्देशनसमेत दिए ।
चालु आवमा १२ करोड रुपैयाँमा सेज आयोजनाको मुख्य भवन तथा ३ करोड रुपैयाँमा पर्खाल निर्माण भइरहेको छ । सेज निर्माणका लागि नपाको वडा नं ७ र ८ स्थित पाँडुला देवीस्थान सामुदायिक वन र शिखरपुर सामुदायिक वन गरी करिब एक हजार रोपनी जग्गामा सेजका संरचना निर्माण थालिएको ८ नंका वडाध्यक्ष पुष्कर ढकालले जानकारी गराए । (रासस)
प्रकाशित समय १५:५३ बजे

















