गृहपृष्ठ ‘सिंघिया सफाई महाअभियान’ सुरु

‘सिंघिया सफाई महाअभियान’ सुरु

singhiya khola safai

‘सिंघिया खोलाको सफाई अभियान, हामी सबैको शान’ भन्ने नाराका साथ प्रदेश १ सरकारको अगुवाईमा सिंघिया सफाई महाअभियान सुरु भएको छ । सामाजिक विकास मन्त्रालयको संयोजन तथा विराटनगर महानगरपालिका, कटहरी, बूढीगंगा, ग्रामथान र जहदा गाउँपालिकासहित ५ स्थानीय तहको सहकार्यमा शनिबारदेखि अभियान सुरु गरिएको हो ।

सामाजिक विकासमन्त्री जीवन घिमिरे, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, कटहरी गाउँपालिकाका मेयर रामकुमार कामत लगायतले विराटनगर– ३, पुष्पलाल चोकस्थित घिनाघाटमा खोलाको फोहोर संकलन गरेर अभियानको थालनी गरे । सफाई अभियानमा विभिन्न संघसंस्था, नेपाल प्रहरी, नेपाली सेना, राजनीतिकर्मी तथा स्थानीयहरुको सहभागिता थियो । अभियानको पहिलो दिन घिनाघाटदेखि बुद्धचोक निस्कने बाटोसम्म करिब डेढ किलोमिटर सफाई गरिएको छ ।

सामाजिक विकासमन्त्री घिमिरेले यसअघि जति फोहोर फ्याँकियो त्यसप्रति पश्चाताप गर्दै आगामी दिनमा फोहोर नफ्याँक्न अनुरोध गरे । सबैले आफ्नो वरपरको खोला, नदी सरसफाई गर्दै सुन्दर र सफा प्रदेश बनाउन प्रदेशवासी लाग्नुपर्नेमा उनले जोड दिए ।

विराटनगर महानगरपालिकाका मेयर पराजुलीले अभियानका लागि विभिन्न समिति बनेको जानकारी दिँदै यो अभियानलाई कसरी दीर्घकालीन रुपमा लैजाने भन्ने बारेमा प्रदेश सरकारसँग छलफल गरेर अघि बढ्ने बताए ।

हरेक १५ दिनमा सञ्चालन हुने सरसफाई अभियानका लागि मन्त्रालयले एक सय ७० जोर गम्बुट, एक सयवटा डोको, एक हजार पाँच सयवटा माक्स, पाँच सयवटा डिस्पोजेबल पञ्जा, खानेपानी, माइक तथा स्पिकरको व्यवस्था गरेको छ ।

महानगरपालिकाले सात सयवटा एप्रोन, एक सयवटा फोहोर तान्ने काँटा, २० वटा बेल्चा, २० वटा दबिया, ५० वटा कचिया, २० वटा फोरुवा, २० वटा डस्बिन र २० थान डोरी उपलब्ध गराएको छ । त्यस्तै संकलित फोहोर व्यवस्थापनका लागि फोहोर उठाउने र डम्पिङ साइडसम्म पुर्याउने सवारी साधनको व्यवस्था महानगरले गर्नेछ ।

खोलाको सीमांकन तथा ऐलानी र पर्ति जग्गा पहिचानका लागि नापी कार्यालय मोरङका अधिकृतको संयोजकत्वमा पाँच स्थानीय तहका अमिनहरु सदस्य रहने ६ सदस्यीय सीमांकन एवं नापजाँच समिति बनाइएको छ ।

प्रकाशित समय १७:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु