गृहपृष्ठ मनमोहन पोलिटेक्निक अब प्राविधिक विश्वविद्यालय
मनमोहन पोलिटेक्निक अब प्राविधिक विश्वविद्यालय
२ अर्ब बढीको सम्पत्ति तथा दायित्व हस्तान्तरण
मोरङको बुढीगंगा गाँउपालिकास्थित मनमोहन स्मृति पोलिटेक्निक इन्स्टीच्युटको चल–अचल सम्पति प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । पोलिटेक्निक प्राविधिक विश्वविद्यालय भएसँगै प्रदेश सरकारलाई सम्पत्ति तथा दायित्व हस्तान्तरण गरिएको हो ।
मनमोहन स्मृति प्रतिष्ठान मातहत रहेको पोलिटेक्निकको २ अर्ब बढीको सम्पत्ति तथा दायित्व विश्वविद्यालयलाई हस्तान्तरण गरिएको हो । बुढीगंगा गाँउपालिका– ४ स्थित पोलिटेक्निक परिसरमा शुक्रबार आयोजित कार्यक्रमकामा पोलिटेक्निकका अध्यक्ष समेत रहेका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले मनमोहन प्राविधिक विश्व विद्यालयका सहकुलपति एवं प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई चलअचल सम्पति हस्तान्तरण गरेका हुन् । पोलिटेक्निकको स्वामित्वमा रहेको २० बिग्गाह जग्गा र ३१ वटा भवन रहेको छ
यसअघि पोलिटेक्निकका अध्यक्ष पोखरेल, विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र समाजिक विकास मन्त्री एवम उपकुलपति घिमिरेले सम्पत्ति र दायित्व हस्तान्तरण दस्तावेजमा हस्ताक्षर गरेका थिए ।
सामाजिक विकासमन्त्री घिमिरेले प्रतिकुलताका बीच मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक पास गरेर मात्र मूर्तरुप दिन सकिएको बताए । ‘विधेयक पास कसरी भयो, तपाईहरु सबैलाई थाहा नै छ । विश्वविद्यालयका रुपमा ल्याउन थुप्रै समस्याहरु आइलागे पनि गरेपछि भएरै छाड्यो,’ उनले भने ।
उपप्रधान तथा रक्षामन्त्री पोखरेलले मनमोहन पोलिटेक्निकले विगतदेखि नै शिक्षा र प्राविधिक अध्ययन क्षेत्रमा विशिष्ट भूमिका खेलेकै कारण तीन पटकसम्म राष्ट्रिय सम्मान हासिल गर्न सफल भएको बताए । ‘विश्वविद्यालय यति चाँडै बन्ने विषय होइन । पूर्वाधारहरु पनि भइरहेका कारण चाँडै सम्भव भयो,’ उनले भने, ‘प्राविधिक विश्वविद्यालयमा रुपान्तरण भएको यस संस्थाले आगामी दिनमा उल्लेख्य सफलता हासिल गर्नेमा विश्वस्त छु । सरकारको सबै प्रदेशमा कम्तिमा १÷१ वटा प्राविधिक विश्वविद्यालय स्थापना गर्ने सरकारको योजना अनुरुप यसलाई विश्वविद्यालयमा रुपान्तरण गरिएको हो ।’
कार्यक्रममा मुख्यमन्त्री राइले कुनै पनि विवादमा नअल्मलिइकन विश्वविद्यालयका लागि आवश्यक कामहरु प्रदेश सरकारले गरेको बताए । उनले भने, ‘अहिले त सम्पत्ति तथा दायित्व मात्र हस्तान्तरण भएको हो । अब केही दिन भित्रमै औपचारिक रुपले प्राविधिक विश्वविद्यालय घोषणाको तयारीमा हामी छौँ ।’ प्राविधिक शिक्षा नै आजको प्रमुख आवश्यकता भएकाले प्रदेशका लागि मात्र नभई सिंगो देश र दक्षिण एसियाकै लागि दक्ष जनशक्ति उत्पादन हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।
पोलिटेक्निकलाई प्राविधिक विश्वविद्यालयमा रुपान्तरण गर्ने विधेयक २०७६ असोज ६ गते प्रदेशसभाबाट पारित भएको थियो । असोज १६ गते प्रदेश प्रमुखबाट समेत प्रमाणीकरण भएपछि विधिवत रुपमा सम्पत्ति र दायित्व हस्तान्तरण गरिएको मनमोहन स्मृति प्रतिष्ठानका सदस्य सत्यनारायण चौधरीले जानकारी दिए ।
प्रकाशित समय १९:२६ बजे

















