गृहपृष्ठ स्वरुप फेर्दै चन्द्रगढी विमानस्थल
स्वरुप फेर्दै चन्द्रगढी विमानस्थल
झापाको चन्द्रगढी विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउन गुरुयोजनासहित स्तरउन्नतिको काम थालिएको छ । मर्मतसम्भारको काम थालिएपछि विमानस्थलको स्वरुप फेरिएको छ ।
५२ वर्षअगाडि निर्माण भएको यो विमानस्थल आर्कषक देखिन थालेको छ । अहिले दैनिकी ८ सय जनाले यो विमानस्थलबाट आवतजावत गर्दै आएका छन् । भारत, भुटान, बंगलादेश, बर्मालगायत पूर्वी नेपालका यात्रुहरुले यो विमानस्थल प्रयोग गर्दछन् ।
सञ्चालन भएको पाँच दशकपछि विमानस्थलको दीर्घकालीन गुरुयोजना निर्माण गरिएको छ । गुरुयोजनाअनुसार विमानस्थलको विकास तथा विस्तारको लागि एक सय बिगाह जग्गा तत्काल अधिग्रहण गर्नुपर्ने छ ।
१५ सय मिटर लम्बाई र ३० मिटर चौडा धावनमार्ग रहेको यो विमानस्थललको क्षेत्रफल ६० विगाहबाट बढाएर १६० बनाउने योजना छ । यसका लागि संघीय सरकारले सहयोग गर्ने भएको छ । २०३६ सालदेखि घाँसे धावनमार्गबाट उडान सुरु गर्दै सेवा थालेको विमानस्थलको स्तरोन्नतिपछि रात्रीकालीन उडानसमेत सुरु भएको छ ।
हाल यहाँको टावरले १८ किलोमिटरको प्रत्यक्ष कन्ट्रोल गर्ने विमानस्थल प्रमुख पूर्ण चुडालले बताए । उनका अनुसार अब पोखरा, लुम्बिनी, ताप्लेजुङसम्म सिधा उडान गरिने तयारी भइरहेको छ । आपतकालीन अवतरणका लागि पनि विमानस्थलमा आवश्यक व्यवस्था गरिएको चुडालले जानकारी थिए ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार धावन मार्गदेखि १६० मिटर सेफजोन भएको यस विमानस्थलको स्तरउन्नतिपछि प्रदेश १ मा आन्तरिक तथा बाह्य पर्यटकको आगमनसमेत बढ्ने अपेक्षा गरिएको छ । बुद्ध, श्री, सौर्य, यति र नेपाल एयरलाइन्सले नियमित उडान भर्दै आएको विमानस्थलमा थप उडान लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको विमानस्थल प्रमुुख चुडालले जानकारी दिए ।
प्रकाशित समय १४:५३ बजे

















