गृहपृष्ठ उम्मेदवारले खर्चको विवरण बुझाएनन्
उम्मेदवारले खर्चको विवरण बुझाएनन्
स्थानीय तहको निर्वाचन सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि जिल्लाका स्थानीय तहका उम्मेदवारले खर्चको विवरण बुझाएका छैनन् । जिल्लाका सात स्थानीय तहका ९१७ जनाले निर्वाचन कार्यालयमा खर्चको विवरण बुझाएका छैनन् ।
जिल्ला निर्वाचन अधिकारी हरि ढकालका अनुसार जिल्लाका सात स्थानीय तहमा दुई हजार २०३ उम्मेदवार रहेका थिए । तीमध्ये १ हजार २८६ जनाले मात्र खर्चको विवरण बुझाएको उनले जानकारी दिए ।
यस्तै प्रतिनिधिसभा र प्रदेशसभाका १२/१२ जनाले पनि खर्च विवरण नबुझाएको कार्यालयले जनाएको छ । साना राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारले खर्चको विवरण नबुझाएका हुन् । उनीहरुलाई कार्यालयले ताकेता गरिरहेको भए पनि विवरण बुझाइनसकेको ढकालले बताए । निर्वाचन सम्पन्न भएको ३० दिनभित्र उम्मेदवारले खर्च विवरण बुझाउनुपर्ने हुन्छ ।
सात जनाको धरौटी जफत
उपनिर्वाचनमा जिल्लाका तीन वटा वडाध्यक्षका लागि उम्मेदवार बनेका सात उम्मेदवारको धरौटी जफत भएको छ । भरतपुर महानगरपालिका-१६ खैरहनी नगरपालिका-४ र ५ मा १३ जना उम्मेदवार रहेका थिए ।
तीमध्ये सात जनाले सदरमतको १० प्रतिशत मत ल्याउन नसकेपछि धरौटी जफत भएको हो । तीन वटै वडामा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ । (रासस)
प्रकाशित समय १४:४७ बजे

















