गृहपृष्ठ जिल्ला अस्पतालमा चिकित्सक नहुँदा समस्या

जिल्ला अस्पतालमा चिकित्सक नहुँदा समस्या

जिल्ला अस्पतालमा डाक्टर नहुँदा समस्या भएको छ । भएका डाक्टर समायोजनमा परेपछि जिल्ला अस्पतालमा दरबन्दीअनुसार डाक्टर छैनन् । डाक्टर नहुँदा बिरामीको जाँचदेखि शवको परीक्षण नहुँदा स्थानीयलाई निकै समस्या भएको छ ।

चार सरकारी डाक्टरको दरबन्दी रहेको अस्पतालमा अहिले शव परीक्षण गर्ने डाक्टर छैनन् । शवको परीक्षण गर्ने जिम्मेवारी पाएका डा. भूषण मिश्रको समायोजनामा काठमाडौं सरुवा भएपछि अहिले यहाँको अस्पतालमा शव परीक्षण गर्ने अधिकार पाएका डाक्टर छैनन् । डाक्टर नहुँदा शव परीक्षणका लागि जिल्ला बाहिरका अस्पताल लैजानुपर्ने बाध्यता भएको छ ।

यसै सिलसिलामा जिल्लाको जोरायल गाउँपालिका-१ मा खार खोप केन्द्रमा मंगलबार खोप लगाएका स्थानीय टेकबहादुर मल्लका चार महिनाका नाति प्रवीण मल्लको मृत्यु भएपछि बालकको शव परीक्षण गर्न शव जिल्ला अस्पतालमा ल्याइयो तर यहाँ शव परीक्षण गर्ने डाक्टर नहुँदा परिवारले शव डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा लगे पनि त्यहाँ शव परीक्षण गर्ने डाक्टर नहुँदा अन्ततः धनगढी लगेर परीक्षण गर्नुपर्‍यो ।

‘एकातिर छोरो मरेको पीडा अर्कोतिर डाक्टर नहुँदा जिल्लामा शव परीक्षण नहुँदा निकै दुःख भयो,’ मृतकका ठूलाबुबा हेमप्रकाश मल्लले भने, ‘जिउँदो छउन्जेल त उपचार गर्न सकेनन्, मरेपछि पनि कस्तो पीडा दिएको होला ?’ उनको मात्र होइन जिल्लामा शव परीक्षण गर्ने डाक्टर नहुँदा यहाँका स्थानीयले यस्तो समस्या झेल्दै आएका दिपायल पिपल्लाका ध्वजबहादुर देउवाले बताए ।

जिल्ला अस्पताल व्यवस्थापन समितिले शव परीक्षण गर्ने डाक्टर ल्याउने तयारी भइरहेको जनाएको छ । व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले जिल्ला अस्पतालमा शव परीक्षण गर्ने डाक्टरदेखि अन्य चिकित्सकका लागि केन्द्र र प्रदेश सरकारसँग माग गरिएको बताए । (रासस)

प्रकाशित समय १५:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु