गृहपृष्ठ बाजुरामा पर्न थाल्यो हिउँ
बाजुरामा पर्न थाल्यो हिउँ
बाजुरामा बिहीबार अपरान्ह्देखि हिमपात र वर्षा सुरु भएको छ । जिल्लाका मार्तडीको पोरखे, बिच्छ्या, दहकोट, जुकोट, रुगिन, आटिचौरका माथिल्ला दर्जनभन्दा बढी स्थानमा हिमपात सुरु भएको छ । हिमपातसँगै तल्लो क्षेत्रतिर चिसोका कारण जनजीवन प्रभावित बनेको छ ।
अहिले माथिल्लो लेकाली क्षेत्रमा भारी हिमपात भएको छ भने तल्लो क्षेत्रमा वर्षा भइरहेकाले अत्यधिक चिसोका कारण मानिसलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ । चिसोका कारण जिल्लाका विभिन्न नगर तथा गाउँपालिका आसपासका स्थानीय हाटबजार आंशिक रूपमा बन्द छन् भने कतिपय गाउँमा विद्यालय पनि बन्द गरिएको छ ।
हिमाली क्षेत्रमा भारी हिमपातले घर बाहिर निस्कनसमेत समस्या भइरहेको गौमूलका बसिन्दा प्रेम सार्कीले जानकारी दिए । चिसो छल्न बेँसी झरेकालाई पनि बिहीबारदेखि बढेको चिसोले समस्या परेको छ ।
चिसोबाट बालबालिका, महिला, वृद्धवृद्धा बढी प्रभावित हुने भएकाले न्यानो भएर बस्न चिकित्सकले सुझाव दिएका छन् । आकाशे पानीको भरमा खेती गर्दै आएका किसान हिमपातसँगै वर्षा भएपछि खुसी भएका छन् । अहिले बाजुराको तापक्रम ६ डिग्रीभन्दा तल झरेको छ । जिल्लामा कात्तिकबाटै चिसो बढ्न सुरु भएको हो । (रासस)
प्रकाशित समय ११:४३ बजे

















