गृहपृष्ठ निकुञ्जको बाघले गाउँ पसेर दुःख दिन थाल्यो
निकुञ्जको बाघले गाउँ पसेर दुःख दिन थाल्यो
बाँके राष्ट्रिय निकुञ्जले बाघको आक्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराएको छ ।
गत कात्तिक २४ गते पाटेबाघको आक्रमणबाट कोहलपुर नगरपालिका-१३ नयाँबस्तीकी ६५ वर्षीया काली बस्नेत र २७ गते राप्तीसोनारी-८ बालापुरका ६० वर्षीया ठगी खड्काको मृत्यु भएको थियो ।
दुवै मृतकका परिवारलाई राहतस्वरूप १० लाख रुपैयाँ रकम उपलब्ध गराइएको बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए । निकुञ्जले यसअघि किरिया खर्चका लागि मृतकका परिवारलाई ५० हजार रुपैयाँ उपलब्ध गराएको थियो ।
संरक्षित जनावरबाट भौतिक तथा मानवीय क्षति रोक्ने विविध उपाय अपनाउँदै आएको निकुञ्जले जनाएको छ । उनले भने, ‘हरेक दुःखसुखमा निकुञ्ज प्रशासनलाई स्थानीयले साथ दिनुभएको छ, आगामी दिनमा दिनुहुनेछ भन्ने अपेक्षा गरेका छौँ ।’
विसं २०७५ माघयता पाटेबाघको आक्रमणमा परेर बाँके र बर्दियामा सातको मृत्यु भइसकेको छ । बाघको आक्रमण बढेसँगै बाँकेमा मात्र नभई बर्दिया राष्ट्रिय निकुञ्जका मध्यवर्ती क्षेत्रका नागरिक त्रसित छन् । राष्ट्रिय निकुञ्जमा बाघको संख्या वृद्धि भएको र आहारा बिस्तारै कम हुन थालेपछि मध्यवर्ती क्षेत्र हुँदै मानव बस्तीतर्फ पस्न थालेको पाइएको छ ।
निकुञ्जमा बाघका लागि आवश्यक आहारा नभएपछि आहाराको खोजी गर्दै बाघ मानव बस्तीमा प्रवेश गर्न थालेको निकुञ्जले जनाएको छ । (रासस)
प्रकाशित समय ११:११ बजे

















