गृहपृष्ठ ‘वेदको सामान्य ज्ञान’ नामक पुस्तक सार्वजनिक
‘वेदको सामान्य ज्ञान’ नामक पुस्तक सार्वजनिक
जरो किलो प्रतिष्ठान नेपालले ‘वेदको सामान्य ज्ञान’ नामक पुस्तक सार्वजनिक गरेको छ । काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक तथा जरो किलो प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष डा. निर्मलमणि अधिकारीले लेखेको ‘वेदको सामान्य ज्ञान’ वेदलाई नेपालीमा अनुवाद गरिएको पुस्तक आचार्य तिलकप्रसाद लुइँटेलले लोकार्पण गरेका हुन् ।
पुस्तक लोकर्पण गर्दै आचार्य तिलकप्रसाद लुइँटेलले वेदका बारेमा जानकारी लिन चाहने सर्वसाधारणका लागि पुस्तक प्रवेश विन्दु भएको बताए । शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले वेदमा सबै कुरा छ भनिए पनि यसमा भएको वैज्ञानिक पक्षबारे चर्चा हुनुपर्नेमा जोड दिए । वेदमा भएका ज्ञानको विषयगत पुस्तक प्रकाशित हुनुपर्ने उनको भनाइ थियो ।
प्रा.डा. आनन्दप्रसाद घिमिरेले वेदका विविध पक्षबारे चर्चा गर्दै लोकार्पित पुस्तकले सामान्य पाठकलाई पनि वेदबारे जानकारी राख्न सघाउने बताए । कार्यक्रममा डा. गोविन्दशरण उपाध्यायले पछिल्लो समय वेदबारे सर्वसाधारणमा बढेको जिज्ञासाको समाधान पुस्तकले गर्ने विश्वास व्यक्त गरे ।
पुस्तकका लेखक अधिकारीले विभिन्न माध्यमबाट वेदबारे सयौँ प्रश्न सोधिने गरेकामा सबैको प्रतिनिधि ३० प्रश्नको उत्तर समेटेर पुस्तक तयार पारिएको बताए । पुस्तकमा नेपाली, हिन्दी तथा अंग्रेजीमा उपलब्ध सन्दर्भ सामग्रीको अधिकतम् प्रयोग गरिएको सो अवसरमा जानकारी गराइयो । वेदको सामान्यज्ञान जस्तै आगामी दिनमा उपनिषद्, पुराणलगायत स्मृति गन्थहरुको पनि समान्यज्ञान प्रकाशन हुने लेखक अधिकारी प्रतिबद्धता थियो ।
वेदमा सबै ज्ञानको सार समेटिएको बताउँदै वाल्मीकि विद्यापीठका सहप्राध्यापक माधवप्रसाद पाण्डेयले वर्तमान समयमा वेदको वैज्ञानिक पक्षमा धेरै जिज्ञासा भएकाले यस विषयमा छुट्टै पुस्तक आवश्यक भएकामा जोड दिए । (रासस)
प्रकाशित समय १२:४६ बजे

















