गृहपृष्ठ पोखरा विमानस्थलका लागि थप जग्गा अधिग्रहण हुन्छ : मन्त्री भट्टराई

पोखरा विमानस्थलका लागि थप जग्गा अधिग्रहण हुन्छ : मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले पोखरा विमानस्थल निर्माणको लागि थप जग्गा आवश्यक परेकाले प्रचलित मूल्यमा अधिग्रहण गर्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघ कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टराईले हवाई उडानलाई सुरक्षित बनाउनका लागि पनि एक सय ४ रोपनी जग्गा आवश्यक पर्ने जानकारी दिए । उनले उक्त जग्गा र घरहरुको चित्तबुझ्दो मुल्य दिने बताए ।

गाइड पाथ, एप्रोजलाइट, मेट्रोलोजिकल स्टेशन र विशेषगरी उडान र अवतरणका लागि थप जग्गा आवश्यक भएको मन्त्री भट्टराईले जनाए । उनले भने, ‘जग्गा अधिग्रहण गर्न यहाँ सरोकारवाला सहितको समिति बन्छ । समितिले नै जग्गा तथा घरको मूल्य निर्धारण गर्ने हो । एकदमै नोक्सान हुने ढंगले अधिग्रहण गर्दैनौँ ।’

त्यसपछि पनि थप जग्गा आवश्यक पर्छ वा पर्दैन भन्ने विषयमा हाल आफूले केही भन्न नसक्ने मन्त्री भट्टराईले बताए । ‘म विज्ञ होइन । पछि थप जग्गा आवश्यक पर्न पनि सक्छ । नपर्न पनि सक्छ । तर, जग्गा अधिग्रहण गर्नु परेमा राज्यले सम्बन्धित जग्गाधनीको चित्त बुझाएरै मात्र अधिग्रहण गर्छ,’ उनले भने ।

२०७१ सालमा ६ सय २९ रोपनी जग्गा अधिग्रहण गर्ने भनिए पनि दुई वर्षपछि ५ सय २० रोपनी मात्र जग्गा अधिग्रहण गरिएको उनले जनाए । मन्त्री भट्टराईले पोखराको रत्न मन्दिर र हिमागृहलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न नेपाल ट्रस्टलाई पत्राचारसमेत गरिसकेको जानकारी दिए । पोखराका पर्यटकीय गन्तव्यमा लगानी गर्न आग्रह गर्दै उनले यहाँको रात्रिकालीन व्यवसाय बढाउनसमेत सुझाव दिए ।

प्रकाशित समय १६:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु