गृहपृष्ठ बालबालिकाको दिगो व्यवस्थापनमा जोड

बालबालिकाको दिगो व्यवस्थापनमा जोड

‘बाल अधिकारको स्थितिसम्बन्धी अन्तर्क्रिया कार्यक्रम’का सहभागीहरुले बालबालिकाको दिगो व्यवस्थापनमा जोड दिनुपर्ने बताएका छन् । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद् तथा सामाजिक विकास मन्त्रालयले शनिबार सुर्खेतमा सो कार्यक्रम आयोजना गरेको थियो ।

बाल अधिकारकर्मी रमा भण्डारीले बालबालिकाको अभिभावकत्व बाबुआमाले नै गर्नुपर्ने गरी कानुन निर्माण गर्नुपर्ने बताइन् । उनले अनाथ बालबालिकाको लागि सरकारले बाल गृहको व्यवस्था गरे पनि बाबुआमा हुनेले भने आफ्ना बालबालिकाको अपनत्व ग्रहण गर्नुपर्ने धारणा राखिन् । ‘जन्माएर कर्तव्य पुरा नगर्ने बाबुआमालाई कारवाही हुनुपर्छ,’ उनले भनिन् ‘बाध्यात्मक परिस्थिति भए मात्रै सरकारले संरक्षण गर्नुपर्छ ।’

बच्चा जन्माएर सडकमा छोड्ने बाबुआमालाई कारवाही गर्नेगरी बाध्यात्मक कानुन निर्माण गर्नु जरुरी भएको उनको धारणा थियो । बालबालिकाहरुको दिगो व्यवस्थापन नै उनीहरुको बाबुआमाको दायित्व भएकोसमेत उनले बताइन् ।

आमा घरका स्वयंसेवक अनिल ढकालले सडक बालबालिकाको लागि सरकारले अहिले चासो नदेखाए भविष्यमा समाजले बलात्कार र अन्य अपराधिक घटना व्यहोर्नुपर्ने बताए । सरकारले दिगो व्यवस्थापनको लागि सोच्न जरुरी भएको उनको भनाइ थियो ।

कार्यक्रममा सहभागी अधिकांशले बालबालिकालाई बाल गृहमा राखेर मात्रै नभई भविष्यमा कहाँ व्यवस्थापन गर्ने भन्ने विषयमा समेत सोच्नु जरुरी रहेको धारणा राखेका थिए ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बालबालिकाको क्षेत्रमा सबैले चासो राख्नुपर्ने बताए । सामाजिक विकास मन्त्रालयका सचिव डा. मानबहादुर विकले कर्णालीलाई सडक मानवरहित बनाउनका लागि काम भइरहेको जानकारी दिए ।

राष्ट्रिय बाल अधिकार परिषद्का प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भुषालले बालबालिकाहरुको दिगो व्यवस्थापनको लागि आफूहरु लागिरहेको बताए । बालबालिकाको व्यवस्थापन राज्यको पनि प्रमुख दायित्व भएको भन्दै भुषालले यस विषयमा तीनै तहको सरकारले गम्भिर भएर सोच्नुपर्ने आवश्यकता औंल्याए ।

प्रकाशित समय १८:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु