गृहपृष्ठ आरानले चम्केका जीतबहादुर
आरानले चम्केका जीतबहादुर
पोखराको नयाँबजारमा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा एउटा स्टल छ, गोर्खाली कृषि औजार पसल । त्यसका सञ्चालक हुन्, जीतबहादुर ।
गोर्खा च्याङलिङका जीतबहादुर हाल चितवनमा बसोवास गर्दैै आएका छन् । उनले बाबुबाजेबाटै सिकेको आरानले चम्केका जीतबहादुरको काम सम्हाले । यसैलाई पेशाको रुपमा अपनाए ।
उनी हँसिया, खुर्पा, दाउ, फाली, बञ्चरो, ताप्के, कराई सबै बनाउँछन् । सुरुमा उनले जीविकाका लागि मात्र आरानको काम गरेका थिए । तर, पहाडिया ढाँचामा उनले बनाएका घरायसी सामानहरु मान्छेले मन पराए । त्यसपछि भने उनले आरानको कामलाई व्यवसायिक रुपमै सुरुवात गरेका हुन् ।
‘८ वर्षकै उमेरदेखि काम गर्न थालेको हुँ,’ उनले भने, ‘गौँथलीले गुँड लगाएजस्तै अलिअलि गरेर अहिलेको अवस्थामा आएको हुँ ।’ उनी अहिले भाँडा पनि बनाउँछन् ।
अहिले उनलाई भाइले पनि साथ दिएका छन् । ४ जनालाई रोजगारी दिने उनको गोर्खाली कृषि औजारले उद्योगकै रुप लिएको छ । कामले उनलाई माम दिएको छ । परिचय पनि दिलाएको छ ।
उनी आफ्नो काममा सन्तुष्ट छन् । गुणस्तरीय फलामका सामान उत्पादकको रुपमा उनको नाम परिचित बनेको छ । व्यापार मेलामा रहेको उनको स्टलमा राखिएका सामानहरु उपभोक्ताले मन पराएका छन् । जीतबहादुरका उत्पादनहरुको ‘फिनिसिङ’ पनि राम्रो छ ।
मेलामा देशैभरका साना उद्यमीहरुको उत्पादन प्रदर्शनी तथा विक्रीवितरण भइरहेको छ । घरायसी प्रयोजनका सबैजसो सामानहरु मेलामा रहेको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले बताए । ‘मेला मध्यतिर आइपुग्दा सहभागिता पनि बढ्दै गएको छ । हामी उत्साहित छौँ,’ उनले भने ।
प्रकाशित समय १७:२८ बजे

















