गृहपृष्ठ गैर पत्रकारको सदस्यता नवीकरण नहुने

गैर पत्रकारको सदस्यता नवीकरण नहुने

नेपाल पत्रकार महासंघ बागलुङ शाखाले सदस्यता शुद्धीकरण अभियान सुरु गरेको छ ।

सदस्यता नवीकरणसम्बन्धी कार्यविधि–२०७६ अनुसार निर्वाचित जनप्रतिनिधि, निजामती कर्मचारी र राजनीतिक दलका प्रदेश र जिल्ला तहका पदाधिकारीसहित ११ जनाको सदस्यता नवीकरण नगर्ने निर्णय गरिएको शाखाले जनाएको छ ।

शाखाको आइतबार बसेको बैठकले विदेशमा रहेका सदस्यको समेत जिल्लामा सदस्यता नवीकरण नगर्ने निर्णय गरेको शाखा अध्यक्ष दिल शिरीषले जानकारी दिए ।

‘विदेशमा रहेका सदस्यको हकमा सम्बन्धित देशमै रहेका महासंघका शाखामा सदस्यता स्थानान्तरण गर्ने निर्णय भएको छ,’ उनले भने ।

शाखामा आबद्ध २६ सदस्य हाल विदेशमा छन् । महासंघलाई श्रमजीवी पत्रकारको साझा, व्यावसायिक र मर्यादित संस्थाको रुपमा स्थापित गर्न संगठन शुद्धीकरण अभियान सुरुवात गरिएको शाखाले जनाएको छ ।

महासंघले सदस्यता लिएर पनि पछिल्लो समय पत्रकारितामा निष्कृय रहेका सदस्यलाई स्वेच्छिक रुपमा सदस्यता त्याग गर्न आह्वान गरेको छ ।

आफ्नो कालखण्डमा पत्रकारिता र पत्रकार महासङ्घमा महत्वपूर्ण योगदान दिएको व्यक्तिलाई महासंघले मानार्थ सदस्यता दिने व्यवस्था गरेको छ ।

निष्कृय सदस्यले स्वेच्छिक रुपमा सदस्यता त्यागेमा थप ५० जना जति सदस्य हट्ने सम्भावना रहेको शाखाले जनाएको छ । यसका लागि शाखाले सदस्यता नवीकरणमा समेत कडाइ गर्ने भएको छ ।

सदस्यता नवीकरणका लागि नियुक्तिपत्र, क्रियाशीलताको प्रमाणपत्रलगायतका कागजात अनिवार्य गरिएको छ । शाखामा हाल १८१ सदस्य आबद्ध छन् । (रासस)

प्रकाशित समय ०९:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु