गृहपृष्ठ यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय जोखिममा
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय जोखिममा
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायप्रति सरकार र सम्बन्धित निकायले बेवास्ता गरेको भन्दै निल हिरा समाजले आपत्ति जनाएको छ । सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष पिंकी गुरुङले सरकार र सम्बन्धित निकायको वेवास्ताकै कारण तेस्रोलिंगीहरुले जोखिम व्योहोर्नुपरेको बताइन् ।
संविधानमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यको हरेक निकायमा यौनिक तथा अल्पसंख्यक समुदायलाई समावेस गर्दै लैजाने भनिए पनि व्यवहारमा लागू नभएको अध्यक्ष गुरुङले बताइन् । उनले भनिन्, ‘विभिन्न जात, धर्म, लिङ्ग र क्षेत्रका सीमान्तकृत वर्गलाई विभिन्न क्षेत्रमा आरक्षणको व्यवस्था प्रदान गरेको छ, तर हामीले संविधानमै उल्लेख भएको अधिकार पनि उपभोग गर्न पाएका छैनौँ ।’
अझै पनि तेस्रोलिंगीहरुले शैक्षिक, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारबाट वञ्चित भइरहनु परेको उनले गुनासो गरिन् । फरक लैंगिकता र यौनिकता भएकाहरु शैक्षिक क्षेत्र, कार्यस्थल, समाज र परिवारमा समेत विभेद, लाञ्छना र हिंसा सहेर बस्नुपर्ने बाध्यता रहेको उनले सुनाइन् ।
तेस्रोलिंगी भएकै कारण हेटौंडामा हत्या गरिएकी अजिता भुजेलको हत्यारा पक्राउ पर्न नसकेको अध्यक्ष गुरुङले बताइन् । ‘कुनै महिलाको हत्या भएको भए सरकार र महिला समाज चुप लाग्ने थिएन होला । तर तेस्रोलिंगी भएकै कारण अजिताको हत्यामा संलग्नको खोजी कार्यमा सम्बन्धित निकाय उदासीन बन्यो,’ उनले भनिन् । कैयौं तेस्रोलिंगीहरुको बलात्कार र हत्या गरिएको तर त्यसतर्फ सरकारले ध्यान नदिएको उनले आरोप लगाइन् ।
सरकारले यौनिक तथा अल्पसंख्यक समुदाय र अन्य समुदायप्रति गर्ने व्यवहारमा समेत फरक रहेको उनको गुनासो थियो । उनले भनिन्, ‘सरकारले ल्याएका योजना र कार्यक्रम सीमान्तकृत वर्गहरुको लागि सीमित छ, यस समुदायको लागि कुनै कार्यक्रम ल्याएको छैन ।’
सरकारले पहिचानको आधारमा नागरिकता उपलब्ध गराउनु पर्ने कानुन ल्याए पनि यसका लागि तेस्रोलिंगीहरुले लिङ्ग परिवर्तन गर्नुपर्ने र मेडिकल सिफारिस उपलब्ध गराउनु पर्ने प्रावधानले झन् समस्यामा भएको उनको भनाइ थियो । ‘महँगो खर्च गरेर लिङ्ग परिवर्तन गर्न असम्भव छ । कतिपयले लिङ्ग परिवर्तन गर्न चाहँदैनन् । समाजमा सबैले स्वतन्त्र रुपमा बाँच्न पाउनुपर्छ, तर यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले इच्छाविपरित बाँच्नु परिरहेको छ,’ अध्यक्ष गुरुङले समस्या सुनाइन् ।
सरकारले र समाजले तेस्रोलिंगीहरुलाई गम्भिरतापुर्वक लिनुपर्ने उनको धारणा थियो । उनले भनिन्, ‘पहिचान दिएर मात्रै पुग्दैन, हरेक अधिकारको पनि व्यवस्था गर्नुपर्छ ।’ अरुलाई जस्तै समान इज्जत र सम्मान सरकारले गरेको खण्डमा तेस्रोलिंगीहरु समाजमा खुलेर बाँच्नसक्ने अध्यक्ष गुरुङले बताइन् ।
प्रकाशित समय १७:३६ बजे

















