गृहपृष्ठ ‘नागरिक लगानी कोष नाफा कमाउने संस्था होइन, तर लगानी सुरक्षित भने हुनुपर्छ’
‘नागरिक लगानी कोष नाफा कमाउने संस्था होइन, तर लगानी सुरक्षित भने हुनुपर्छ’
अर्थमन्त्री डा. युवराज खतिवडाले नागरिक लगानी कोषलाई पूँजीबजारमा लगानी विस्तारका लागि मार्ग प्रशस्त गर्न लागिएको बताएका छन् । कोषले सहायक कम्पनीमार्फत पूँजीबजारमा लगानी बढाउने र त्यसले बजार विस्तारका अतिरिक्त सुदृढीकरणमा समेत काम गर्ने अर्थमन्त्री खतिवडाले विश्वास व्यक्त गरे ।
संघीय संसदको अर्थ समितिको आजको बैठकमा ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलमा अर्थमन्त्री खतिवडाले कोषको सहायक कम्पनी स्थापना गरी पूँजीबजारमा लगानी बढाउने तयारीमा सरकार अगाडी बढेको स्पष्ट पारे ।
छलफलमा अर्थमन्त्रीले कोष मुद्राबजारको संस्था नभई पूँजीबजारको संस्था भएको उल्लेख गर्दै ‘मार्केट मेकर’ अत्यावश्यक भएकाले पनि त्यसतर्फ केन्द्रित हुन लागेको बताए । उनले भने, ‘सहायक कम्पनीमार्फत कोषले पूँजीबजारमा मार्केट मेकरको काम गर्छ । त्यसका लागि कोषको पूँजी तीन अर्ब रूपैयाँ पर्याप्त छ ।’
लगानीकर्ताको हितका लागि स्थापना गरिएको कोष वाणिज्य बैंक जस्तो नरहेको र ट्रष्टी पनि नभएको उनको भनाइ थियो । उनले कोष सामान्य नाफामूलक सार्वजनिक संस्था भएको र संकलन गरिएको रकमको सुरक्षित लगानी गर्ने निकाय मात्रै भएको जानकारी दिए । ‘कोष वाणिज्य बैंकजस्तो नाफा कमाउने संस्था त होइन, तर लगानी सुरक्षित भने हुनुपर्छ । त्यसकारण यसलाई अन्य नाफामूलक संस्था जसरी तुलना गरिनु उपयुक्त हुँदैन,’ अर्थमन्त्री खतिवडाले भने ।
नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषलाई सामाजिक सुरक्षा कोषसँग मेल खानेगरी कुनै पनि प्रकारको योजना नल्याउनसमेत उनले निर्देशन दिए । कर्मचारी सञ्चयकोषका अध्यक्षसमेत रहेका राजश्व सचिव शिशिरकुमार ढुंगानालाई निर्देशन दिँदै अर्थमन्त्री खतिवडाले भने, ‘कर्मचारी सञ्चयकोषको अध्यक्ष पनि यहीँ हुनुहुन्छ । सकेसम्म सामाजिक सुरक्षा कोषसँग मिल्ने गरी कुनै पनि योजना नल्याउनुस् ।’
समितिको बैठकमा ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको दफावार छलफल जारी छ । सांसदहरुले दर्ता गराएको संशोधन प्रस्तावमाथि नियमित छलफल गर्ने र पारित गर्ने कार्यसूची रहेको सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए ।
प्रकाशित समय १८:२६ बजे

















