गृहपृष्ठ विराटनगरबाट पाँच बाल श्रमिकको उद्धार
विराटनगरबाट पाँच बाल श्रमिकको उद्धार
नियमविपरीत श्रमिक बनाइएका पाँच बालकको आज विराटनगरमा उद्धार गरिएको छ । महानगरपालिकाको नेतृत्वमा निस्किएको सरोकारवालाको टोलीले नगर क्षेत्रका विभिन्न होटलबाट बालकहरुको उद्धार गरिएको हो ।
नगर क्षेत्रको वडा नम्बर ७ बाट ४ जना र वडा नम्बर ३ बाट १ जनालाई उद्धार गरिएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका नगर शिक्षा अधिकारी दुर्गा खतिवडा, महिला तथा बालबालिका शाखा प्रमुख डिल्ली धिमाल सिबिन बाल हेल्पलाइनका बासु अधिकारी, जिल्ला प्रहरी कार्यालय र नगर रक्षकहरुको संयुक्त टोली नगरक्षेत्रका विभिन्न होटलहरुमा काम गर्दागर्दैको अवस्थामा बाल श्रमिकहरुलाई उद्धार गरेको हो ।
उद्धार गरिएका बाल श्रमिकलाई तत्कालका लागि सिबिनको संरक्षणमा राखिएको महानगरका महिला तथा बालबालिका शाखा प्रमुख धिमालले बताए । उनले बालश्रम प्रयोग नगर्न निरन्तर माईकिङ गर्ने र होटल तथा सार्वजनिक स्थानहरुमा स्टिकर टाँसेर अनुरोध गरिए पनि अटेर गरिएका कारण सरोकारवालाको टोलीले छड्के गर्न थालेको जानकारी दिए । बालश्रम प्रयोग गर्नेहरुलाई सचेत गराउनुका साथै नियमानुसारको कारवाही हुने महानगरपालिकाले जनाएको छ । उद्धार गरिएका सबै बालकहरुको उमेर १५ वर्षमुनि रहेको छ ।
प्रकाशित समय १९:०८ बजे

















