गृहपृष्ठ चीनबाट ल्याइएका विद्यार्थीलाई चार ठाउँमा राखिने
चीनबाट ल्याइएका विद्यार्थीलाई चार ठाउँमा राखिने
फाइल तस्बिर ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको वुहान प्रान्तमा रहेका नेपाली विद्यार्थी र नागरिकलाई चार स्थानमा राख्न निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको विशेष बैठकमा प्रधानमन्त्री ओलीले सम्बन्धित निकायलाई शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटीमा रहेका क्वारेन्टाइन स्थल व्यवस्थित गरी राख्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उनीहरुलाई १४ दिनसम्म अलग-अलग रुपमा ती ठाउँहरुमा राखिने छ ।
प्रधानमन्त्री ओलीले चीनबाट ल्याउनुपर्ने विद्यार्थी एवं नागरिकलाई यहाँ ल्याई गरिने उपचार तथा क्वारेन्टाइन अवधिको तयारीमा अविलम्ब जुट्न र सम्पूर्ण कार्य योजनाबद्धरूपमा सम्पन्न गर्न ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री ओलीले कोरोना भाइरसको सङ्क्रमणको खतरालाई मध्यनजर गरी नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ती निर्धारित कार्ययोजनाअनुरूप सम्पूर्ण तयारीमा जुट्न सम्बद्घ मन्त्रालय र निकायलाई निर्देशन दिएका हुन् ।
बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, मुख्यसचिव लोकदर्शन रेग्मी र सम्बद्घ मन्त्रालयका सचिव, सुरक्षा अधिकारी उपस्थित थिए ।
चीनमा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि त्यहाँका १८० नेपाली विद्यार्थीले स्वदेश फर्किन चीनस्थित नेपाली दूतावासमा निवेदन दिइसकेका छन् । सरकारले निवेदन दिएका विद्यार्थीलाई चाँडै नै नेपाल ल्याउनका लागि पहल गरिरहेको छ ।
चीनबाट आउँदा चीनको विमानस्थलमा स्वास्थ्य परीक्षण हुने, त्यहाँबाट नेपाल आउने यात्रुको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गरी सङ्क्रमित यात्रुलाई उपत्यकाको ती चार स्थानको ‘आइसोलेशन वार्ड’मा राखी उपचार गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । सङ्क्रमितबाहेक अन्यलाई दुई हप्ता निगरानीका लागि छुट्टै स्थान (क्वारेन्टइन) मा राखिनेछ ।
बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले अत्यावश्यक कार्ययोजना प्रस्तुत गरे । परराष्ट्र सचिव शङ्करदास बैरागीले पछिल्लो अवस्थाका बारेमा बैठकमा प्रधानमन्त्री र मन्त्रीलाई जानकारी गराएका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाका अनुसार नेपालले एक लाख सङ्ख्यामा ‘प्रोटेक्टिभ माक्स’ चीन सरकारलाई सहयोग उपलब्ध गराउने निर्णय पनि गरिएको छ । (रासस)
प्रकाशित समय १९:२७ बजे

















