गृहपृष्ठ ९ बुँदे घोषणा-पत्र जारी गर्दै ‘बेटी सम्मेलन’ सम्पन्न

९ बुँदे घोषणा-पत्र जारी गर्दै ‘बेटी सम्मेलन’ सम्पन्न

९ बुँदे जनकपुर घोषणा पत्र जारी गर्दै दोस्रो बेटी सम्मेलन सम्पन्न भएको छ ।

प्रदेश २ को सरकार बेटी पढाउ, बेटी बचाउ अभियान बेटी सुरक्षा अभियान र चौधरी फाउन्डेशनको सहयोगमा मुलधार महिला सेवा केन्द्र उदयपुरको आयोजनामा गरिएको दोस्रो बेटी सम्मेलनले ९ बुँदे घोषणा पत्र जारी गरेका हुन् ।

सम्मेलनका प्रदेश २ संयोजक पुष्पा यादवको अध्यक्षता, अर्थ मामिला तथा योजना राज्यमन्त्री उषा यादवको प्रमुख आतिथ्यतामा आयोजित घोषणा पत्र सम्मेलनमा अभियानी नजवुल खाँनले महिलाहरुको हकहितको लागि हामी अभियानीहरुले बल दिनुपर्ने बताइन् ।

घोषणा पत्रमा समानता, समावेशी र मानव अधिकारका लागि आसनमा महिला, भाषणमा महिला, शासनमा महिलाका लागि ५० प्रतिशत अनिवार्य अर्थपूर्ण सहभागिता हरेक तहमा लागू गर्नुपर्ने, महिलाहरुको स्वास्थ्य र शिक्षामा सुधारात्मक पहुँच बढाउन स्थानीय स्तरदेखि केन्द्रीय तहसम्म सरकारी तवरबाट स्यानेटरी प्याड निःशुल्क वितरणको व्यवस्था हुनुपर्नेलगायतका बुँदाहरू समेटिएका छन् ।

त्यस्तै अंश र वंशको अधिकार दिलाउने, छोरीको लागि शिक्षा अभियान संचालन गर्ने, मुसहर डोम, चमारलगायतका छोरीहरुलाई प्रोत्साहन स्वरुप विशेष अभियान चलाउनुपर्ने, घरेलु हिंसा, भ्रुण हत्या, बलात्कार, बालविवाह, घुम्टो प्रथा, दाइजो प्रथा, तलाक प्रथा, बोक्सी प्रथा, छाउपडी, देउकी, वादी प्रथालगायतको महिला हिंसाका घटनाहरुको अन्त्य हुनुपर्नेलगायतका ९ बुँदे घोषणापत्र जारी गरेका छन् ।

घोषणा-पत्र जारी गर्दै अर्थ राज्यमन्त्री उषा यादवले महिलाहरु पनि क्षमतावान र सक्षम रहेकाले गर्दा अवसरबाट बञ्चित नगराउन बताएकी थिइन् । महिलाहरु नेतृत्व तहमा पुग्दा गुणस्तर र कुशल काम गर्दै आएकाले महिलालाई कमजोर र घर भित्रको नबुझ्न आग्रह गर्दै महिलाहरुसमेत आफ्नो क्षमता विकास गर्न आग्रह गरेकी थिइन् ।

घोषणा पत्र सार्वजनिकरण कार्यक्रममा अभियानी नजवुल खाँनले आफू १९ वर्षको उमेर आएर साक्षरता अभियानको कक्षाबाट पढाई सुरु गर्दै आज ब्याचर पढ्दै गरेको बताएकी थिइन् ।

आफू टेम्पो चालक भएर काम गरेको बताउँदै उनले अहिले देशको चालक भएर महिलाहरुको हकअधिकारको अभियान सञ्चालन गर्न पाउँदा खुशी लागेको बताएकी थिइन् ।

कार्यक्रममा एसिड पीडित पर्साकी छात्रा मुस्कान खातनु, अभियानी सरिता राय, कार्यपालिका सदस्य पुष्पा यादव, समाजसेवी सिता यादवलगायतले महिलाहरुलाई अवसर दिनुपर्ने र अवसर पाएको खण्डमा राम्रो कार्य सम्पादन गर्दै आएका बताएकी थिइन् ।

प्रकाशित समय १३:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु