गृहपृष्ठ गाउँका समाचारलाई प्राथमिकता दिन मुख्यमन्त्रीको आग्रह

गाउँका समाचारलाई प्राथमिकता दिन मुख्यमन्त्रीको आग्रह

मुख्यमन्त्री त्रिलोचन भट्टले ग्रामीण क्षेत्रका समाचारलाई प्राथमिकता दिन सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन् । राष्ट्रिय समाचार समितिको ५९औँ वार्षिकोत्सवका अवसरमा बुधबार धनगढीमा आयोजित ‘समृद्धि प्राप्तिमा सञ्चारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री भट्टले विकासका लागि गाउँ स्तरसम्म सञ्चारकर्मी पुग्नु आवश्यक रहेको बताए ।

अलिकति भए पनि सहर क्षेत्रमा विकासले छोएको अवस्थामा गाउँ स्तरका जनताले विकासको अनुभूति गर्न नसकेको मुख्यमन्त्री भट्टले बताए । गाउँका समस्या सञ्चार माध्यमले उठान गरे सरकारको ध्यानाकर्षण हुने भएकाले सहरका समस्या मात्रै नभई गाउँका समस्याप्रति पनि केन्द्रित हुन उनले सञ्चारकर्मीहरुलाई आग्रह गरेका हुन् ।

अहिलेको आवश्यकता विकास र समृद्धि भएकाले यसका लागि सबै ठाउँ विकास हुन जरुरी रहेको उनले बताए । ‘सहरमा मात्रै हुने विकासले मुलुकमा समृद्धि आउन सक्दैन । गाउँमा के गर्न सके विकास हुन्छ भन्ने विषयमा पनि पत्रकारको ध्यान जान आवश्यक छ,’ उनले भने ।

मुख्यमन्त्री भट्टले विकासका पक्षमा कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे । उनले भने, ‘कहाँ विकास भएको छैन, त्यहाँ पत्रकार पुग्नुपर्छ । सञ्चार माध्यमले उठाएका सवाललाई राज्यले समाधान गर्न प्रयास गर्छ ।’ प्रदेश सरकारले सञ्चार माध्यम तथा पत्रकारहरुलाई समस्या पार्ने किसिमको ऐन नबनाउने समेत मुख्यमन्त्री भट्टले विश्वास दिलाए । सञ्चार माध्यमविना विकास असम्भव रहेकाले सञ्चार क्षेत्रलाई कुण्ठित नगरी विकास गर्ने कुरामा प्रदेश सरकारको जोड रहने उनले बताए ।

आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले अहिलेको आवश्यकतालाई पूरा गर्न सबैले जिम्मा लिनुपर्ने बताए । सबैले आ-आफ्नो क्षेत्रको जिम्मा लिए सहजै लक्ष्य पूरा हुने मन्त्री शाहको भनाइ थियो । देशमा राजनीतिक स्थितरता आएसँगै अब जनतालाई अधिकार सम्पन्न बनाएर ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने यात्रामा लागेको बताउँदै मन्त्री शाहले यसका लागि सञ्चार क्षेत्र र सरकारको बढी सबैभन्दा बढी योगदान हुनुपर्नेमा जोड दिए । सरकार र पत्रकार एक अर्काका विरोधी नभई सहयोगी बनेमा सरकारको लक्ष्य पूरा हुने र विकास समृद्धितर्फ प्रदेश लम्किने मन्त्री शाहले बताए ।

प्रकाशित समय १९:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु