गृहपृष्ठ प्रदेश २ मा मानव अधिकारको अवस्था गम्भिर : इन्सेक

प्रदेश २ मा मानव अधिकारको अवस्था गम्भिर : इन्सेक

प्रदेश २ मा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना गत वर्षको तुलनामा बढेको तथ्य अनाैपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ ले सार्वजनिक गरेको छ । सो तथ्यअनुसार सन् २०१९ मा प्रदेश २ मा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाबाट ७ सय ३० जना पीडित भएका छन् ।

सन् २०१८ भन्दा सन् २०१९ मा १ सय २९ घटना बढेको इन्सेकको तथ्यांकले देखाएको छ । इन्सेक प्रदेश २ ले बुधबार आयोजना गरेको ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० र प्रदेश २ को मानव अधिकार अवस्था विषयक छलफल तथा पत्रकार भेटघाट कार्यक्रम’मा यस्तो तथ्यांक सार्वजनिक भएको हो । यस वर्ष राज्य पक्षबाटै तीन जनाको हत्या भएकाले मानव अधिकारको अवस्था गम्भिर रहेको इन्सेकले औंल्याएको छ ।

सन् २०१९ मा प्रदेश २ मा राज्यपक्षबाट सात महिला र ५८ पुरुष गरि ६५ जना र अन्य पक्षबाट ५ सय २७ महिला र १ सय ३८ पुरुष गरि ६ सय ६५ जना मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाबाट पीडित भएको इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले जानकारी दिए ।

सन् २०१९ मा राज्य पक्षबाट भएको गिरफ्तारी घटनामा १३ जना पुरुष, अभिव्यक्ति, भेला तथा संगठित हुने अधिकारमा एक महिला र १६ जना पुरुष गरि १७ जना पीडित भएको संयोजक पासवानले बताए । उनका अनुसार यस अवधिमा जातीय विभेदका घटनामा राज्य पक्षबाट एक महिला र अन्य पक्षबाट पाँच जना गरी ६ जना पीडित भएका छन् । त्यस्तै यातनाका घटनामा एक जना पीडित भएको वर्ष पुस्तकमा उल्लेख छ ।

महिला अधिकार उल्लंघनका घटनामा २ सय ३६ जना र बालअधिकार उल्लंघनका घटनामा २ सय २ बालिका र २३ बालक गरी २ सय २५ जना पीडित भएका छन् । सन् २०१८ मा यस प्रदेशमा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा ६ सय १ जना पीडित भएका थिए ।

प्रकाशित समय ११:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु