गृहपृष्ठ बाँदर धपाउन रुख काट्ने तयारी, संरक्षणकर्मीको विरोध
बाँदर धपाउन रुख काट्ने तयारी, संरक्षणकर्मीको विरोध
नेपाल कृषिप्रधान देश हो । अधिकांशले कृषिलाई नै जीविकोपार्जनको आधार बनाएका छन् । कृषिप्रधान देशमा कृषकका अनेक समस्या छन् । यसमध्ये एक हो, बाँदर । बालीनालीमा बाँदरले पुर्याएको क्षतिका कारण कृषकहरु पीडित छन् । बाँदर आतंक जहीँतहीँ छ । यसको नियन्त्रणका लागि विभिन्न उपाय पनि अपनाउन थालिएको छ ।
पोखरा महानगरपालीका- २१ का स्थानीयले भने बाँदरलगायत जंगली जनावर नियन्त्रण गर्न भन्दै निजी वनका रुखविरुवा काट्ने तयारी गरेका छन् । किसानले लगाएको अन्नबाली र फलफुल खाइदिएर बाँदरले दुःख दिएपछि रुखविरुवा काट्न वडा कार्यालयले सूचना जारी गरेको छ । वन फाँडेपछि बाँदर र जंगली जनावर भाग्ने र बालीनाली जोगिने स्थानीय तहको यो बुझाईलाई धेरैजसोले उचित ठानेका छैनन् ।
कृषकहरुले बारम्बार कार्यालयमै आएर बाँदर नियन्त्रणका लागि रुख कटान नै अन्तिम विकल्प रहेको भनेपछि रुख काट्न सूचना जारी गरेको पोखरा महानगरपालिका- २१ का वडाध्यक्ष ‘ख’ खगराज अचार्यले बताए । उनले भने, ‘पूर्वाधार विकास मात्र गरेर भएन, भएको अन्नबालीको पनि संरक्षण हुनुपर्ने भन्दै पटक-पटक मौखिक उजुरी आयो । विभिन्न उपाय अपनाउँदा पनि समाधान नभएपछि हामीले यो कदम चालेका हौँ ।’
वडा सरकारले स्थानीयवासीको पक्षमा काम नै नगरेको आरोप लाग्न थालेपछि रुख काट्ने निर्णय गर्न बाध्य हुनुपरेको उनले बताए । ‘घरभित्रकै खानाहरु खाइदिने, महिलाहरुलाई कोपर्ने जस्ता गतिविधि बाँदरबाट हुन थालेपछि हामी रुख काट्न बाध्य भयौँ,’ उनले भने ।
पोखरा महानगरअन्तर्गत ग्रामीण क्षेत्रमा पर्ने निर्मलपोखरी, दोपहरे, शिवालय, पोखरेलथोक, कृष्तिनाच्नेचौर, बाउमारा, फोक्सिङ लगायतका गाँउमा रुख काट्न लागिएको हो । कास्कीमा करिब ९३ हजार क्षेत्रफलमा फैलिएको निजी वनमा साल, कटुस, चिलाउनेलगायत प्रजातिका रुखविरुवा रहेका छन् ।
रुखविरुवा काट्न स्थानीय सरकारबाटै सूचना जारी भएपछि पर्यावरण एवं प्राकृतिक सम्पदा संरक्षणकर्मीले विरोध जनाएका छन् । रुख काट्दैमा बाँदर आउँदैन भन्ने सोचाई गलत रहेको डिभिजन वन कार्यालय कास्कीका प्रमुख रामकाजी श्रेष्ठले बताए । उनले भने, ‘रुखको संख्यालाई हेरेर बाँदर आउने होइन । जंगलमा पर्याप्त मात्रामा खानेकुरा खान नपाएकाले बाँदर वस्तीमा पसेको हो ।’
जनताले माग गरे भन्दैमा ठीक/बेठीक नहेरी रुख काट्ने निर्णय गर्नु गलत भएको राष्ट्रिय सम्पदा संरक्षक समिति नेपालका पूर्वसंयोजक रामबहादुर पौडेलले बताए । आधुनिक मेसिनबाट समात्ने र धपाउने उपायबाटै बाँदर नियन्त्रण गर्न सकिने भए पनि वडा कार्यालयले त्यतापट्टि भने ध्यान नदिएको उनले बताए । बाँदर नियन्त्रणको बहानामा वन मास्दा भावी दिनमा नकरात्मक असर पर्ने उनको भनाइ छ ।
प्रकाशित समय १३:२९ बजे

















