गृहपृष्ठ आर्थिक समृद्धिको माध्यम नै व्यवहारिक शिक्षा : सांसद सिलवाल

आर्थिक समृद्धिको माध्यम नै व्यवहारिक शिक्षा : सांसद सिलवाल

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं प्रदेश ३ का सांसद नारायण सिलवालले राज्यसहित अभिभावक र विद्यार्थीले प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताएका छन् । काठमाडौं– ४,  स्थित कन्स्टेलेसन स्कुलको २८औं वार्षिकोत्सवमा सांसद सिलवालले व्यवहारिक शिक्षा आर्थिक समृद्धिमा पुग्ने सबैभन्दा छिटो माध्यम भएको बताएका हुन् ।

उनले भविष्यमा कस्तो जनशक्ति उत्पादन गर्ने भन्ने कुरा विद्यालय, शिक्षक र शिक्षण सिकाइ क्रियाकलापमा भर पर्ने बताए । ‘हामी समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा लिएर अघि बढेका छौँ’,’ सांसद सिलवालले भने, ‘यो आकांक्षा नेकपा वा सरकारको मात्रै होइन, सारा नेपालीको हो । त्यसैले विद्यालय तहबाट यो लक्ष्य प्राप्तिमा सहयोग पुग्ने गरी काम गर्नुपर्छ ।’

पढाइसँगै विद्यार्थीका लागि अतिरिक्त क्रियाकलाप पनि महत्त्वपूर्ण हुने उनले बताए । ‘क्रिकेटर सन्दीप लामिछानेलाई हेरौं, एउटा युवाले आफ्नाे जीवन मात्रै उकासेका छैनन्, नेपाल र नेपालीको शान पनि बढाएका छन्, विद्यालयमा हुने प्रभावकारी अतिरिक्त क्रियाकलापबाट सन्दीपजस्ता जनशक्ति उत्पादन गर्न सकिन्छ’, सांसद सिलवालले भने ।

अभिभावक र विद्यार्थीले आफ्नो क्षमता र रूचि अनुसारको विषय बढ्ने, त्यहीअनुसार अतिरिक्त क्रियाकलापमा भाग लिने हो भने परिणाम सोचेभन्दा धेरै सकारात्मक आउने सिलवालको भनाइ छ । नेकपा नेतृत्वको सरकारको प्राथमिकतामा पनि शिक्षा नै रहेको उल्लेख गर्दै सांसद सिलवालले भने, ‘सरकारले आर्थिक समृद्धिको एउटा महत्त्वपूर्ण आधार शिक्षालाई मानेको छ ।’

प्रकाशित समय १७:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु